तनहुँ–१ मा चुनावी महासंघर्ष: भट्टराई–वाग्ले बदला, न्यौपाने–विद्या सहितको कडा भिडन्त

तनहुँ–१ मा चुनावी महासंघर्ष: भट्टराई–वाग्ले बदला, न्यौपाने–विद्या सहितको कडा भिडन्त


तनहुँ ।
तनहुँ क्षेत्र नम्बर १ फेरि एकपटक राष्ट्रिय राजनीतिमा केन्द्रबिन्दु बनेको छ। १६ जनाले उम्मेदवारी दर्ता गराए पनि यो निर्वाचनलाई मूलतः चार हेभीवेट उम्मेदवारबीचको कडा भिडन्तका रूपमा हेरिएको छ। नेपाली कांग्रेसका गोविन्द भट्टराई र राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णीम वाग्लेको पुनः प्रतिस्पर्धा यस चुनावको मुख्य आकर्षण बनेको छ।
यो क्षेत्र राजनीतिक रूपमा सधैं उतारचढावपूर्ण रहँदै आएको छ। यसअघि एमालेका किसान श्रेष्ठ रामचन्द्र पाैडेललाइ हराउँदै विजयी भएका थिए। त्यसपछि भएको पछिल्लो निर्वाचनमा भने कांग्रेसका गोविन्द भट्टराई र एमालेका सर्वेन्द्र खनाललाई पराजित गर्दै डा. स्वर्णीम वाग्ले विजयी भएका थिए। यही कारण यो क्षेत्रलाई ‘राजनीतिक गणित पल्टिने क्षेत्र’का रूपमा लिने गरिएको छ।
गत चुनावको हार भोगेका गोविन्द भट्टराई पुनः मैदानमा उत्रँदा यसलाई बदला लिने अवसरका रूपमा हेरिएको छ भने वाग्लेका लागि आफ्नो जितको निरन्तरता कायम राख्ने चुनौती छ। यही प्रतिस्पर्धालाई थप रोचक बनाएको छ नेकपा एमालेबाट पूर्व मन्त्री भगवती न्यौपाने र नेपाली कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी धारसँग नजिक मानिने) का नेता विद्यानाथ ढकालको उम्मेदवारीले।
पूर्व मन्त्री न्यौपानेको उपस्थितिले एमालेको संगठित मत पुनः सक्रिय हुने संकेत देखिएको छ भने विद्यानाथ ढकाल, जो माधव नेपाल नेतृत्वको धारसँग नजिक रहेर नेपाली कम्युनिस्ट पार्टी एकीकरणका अभियन्ताका रूपमा परिचित छन्, उनको उम्मेदवारीले वाम मतमा थप विभाजन ल्याउने सम्भावना बढाएको छ। राजनीतिक विश्लेषकहरूका अनुसार यही मत विभाजनले अन्ततः भट्टराई र वाग्लेको प्रतिस्पर्धामा निर्णायक असर पार्न सक्छ।
यसपटकको चुनावलाई थप चासोपूर्ण बनाउने अर्को पक्ष भनेको स्वतन्त्र उम्मेदवार दिपकराज जोशीको उम्मेदवारी हो। उनी कांग्रेसका प्रभावशाली नेता गोविन्दराज जोशीका छोरा हुन्। उनको स्वतन्त्र उम्मेदवारीले कांग्रेस मतदातामा विभाजन ल्याउने कि सहानुभूति तान्ने भन्ने विषयमा स्थानीय तहमा बहस सुरु भएको छ।
यद्यपि मुख्य प्रतिस्पर्धा चार जनाबीच केन्द्रित भए पनि यस क्षेत्रमा अन्य उम्मेदवारहरू पनि छन्। नेकपा माओवादीबाट ओमविक्रम पन्त, राप्रपाबाट रामदत्त जोशी, नेमकिपाबाट रामलक्ष्मी दुवाल, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल मजदुर किसान पार्टी, श्रम संस्कृति पार्टी, उज्यालो नेपाल पार्टीका मन्जिल राना , नेशनल रिपब्लिक नेपाल, नेपाल जनमुक्ति पार्टी, मंगोल नेशनल अर्गनाइजेशनसहित विभिन्न दल र स्वतन्त्र गरी कुल १६ जनाको उम्मेदवारी दर्ता भएको छ।


अब तनहुँ–१ मा चुनाव केवल जित–हारको विषय मात्र नभई राजनीतिक इतिहास दोहोरिने कि नयाँ सन्तुलन जन्मिने भन्ने प्रश्नसँग जोडिएको छ। मतदाताले दिने निर्णयले यस क्षेत्रको मात्र होइन, राष्ट्रिय राजनीतिमा समेत स्पष्ट सन्देश दिने निश्चित देखिन्छ। यहाँका उम्मेदवार मध्येका एक मन्जिल राना पनि लाेकप्रिय उम्मेदवारका रूपमा रहेका छन्।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page