प्रदेश अस्पताल दमाैलीलाई जग्गा प्राप्त, अस्पताल स्तरोन्नतिको ढोका खुल्यो
दमौली, तनहुँ।
दमौलीस्थित प्रदेश अस्पतालको स्तरोन्नति तथा पूर्वाधार विकासका लागि आवश्यक जग्गा औपचारिक रूपमा उपलब्ध गराइएको छ। नेपाल सरकार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको मन्त्रीस्तरीय निर्णयअनुसार अस्पताललाई सरकारी स्वामित्वमा रहेको जग्गा उपयोग गर्न पाउने गरी जग्गा उपयोगको प्रमाणपत्र प्रदान गरिएको हो।
मालपोत कार्यालय, तनहुँले माघ १९ गते प्रदेश अस्पताल दमौलीको नाममा उक्त प्रमाणपत्र जारी गरेको हो। प्रमाणपत्र अनुसार साविक जिल्ला पञ्चायत सचिवालय (हाल जिल्ला समन्वय समिति तनहुँ), कृषि विकास कार्यालय (हाल कृषि ज्ञान केन्द्र) तथा पशु चिकित्सालय (हाल भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र) को नाममा दर्ता रहेको जग्गा अस्पताल प्रयोजनका लागि उपयोग गर्न दिइएको छ।
विभिन्न कित्ता तथा क्षेत्रफल समेटिएको उक्त जग्गा अस्पतालको भौतिक पूर्वाधार विस्तार, सेवा भवन निर्माण तथा अन्य स्वास्थ्यसम्बन्धी संरचना विकासका लागि प्रयोग गरिनेछ।
जग्गा उपयोगको प्रमाणपत्रमा उल्लेख भएअनुसार उक्त जग्गा नाफामूलक वा व्यापारिक प्रयोजनमा प्रयोग गर्न नपाइने, कुनै व्यक्ति वा संस्थालाई भाडामा दिन नपाइने तथा माग गरिएको उद्देश्यअनुसार मात्र प्रयोग गर्नुपर्ने स्पष्ट व्यवस्था गरिएको छ। निर्धारित उद्देश्य विपरीत प्रयोग भएमा नेपाल सरकारले पूर्वाधारसहित जग्गा फिर्ता लिन सक्ने व्यवस्था समेत गरिएको छ।
स्थानीयवासी तथा सरोकारवालाहरूले यो निर्णयलाई दमौली र आसपासका नागरिकका लागि अत्यन्त सकारात्मक र ऐतिहासिक कदमका रूपमा लिएका छन्। लामो समयदेखि प्रदेश अस्पतालको सेवा विस्तारका लागि जग्गा अभाव ठूलो चुनौतीका रूपमा रहेकोमा अब अस्पतालको स्तरोन्नति, नयाँ भवन निर्माण, विशेषज्ञ सेवा विस्तार तथा आधुनिक स्वास्थ्य उपकरण जडानको बाटो खुलेको उनीहरूको भनाइ छ।

स्वास्थ्य क्षेत्रका जानकारहरूका अनुसार जग्गा उपलब्ध भएसँगै प्रदेश अस्पताललाई क्षेत्रीय स्तरको नमुना अस्पतालका रूपमा विकास गर्न सकिने सम्भावना बढेको छ। यसले तनहुँ मात्र नभई छिमेकी जिल्लाका नागरिकहरूलाई समेत गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।


























