शिव सरस्वती माध्यमिक विद्यालयको ५१औँ वार्षिकोत्सव तथा अभिभावक समारोह सम्पन्न

शिव सरस्वती माध्यमिक विद्यालयको ५१औँ वार्षिकोत्सव तथा अभिभावक समारोह सम्पन्न


तनहुँ, २०८२ माघ २५
शिव सरस्वती माध्यमिक विद्यालय, ऋषिङ–८ हवेलीडाँडा, तनहुँको ५१औँ वार्षिकोत्सव तथा अभिभावक समारोह भव्य रूपमा सम्पन्न भएको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दानबहादुर श्रेष्ठको सभापतित्व तथा ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रमको उद्घाटन पानसमा दीप प्रज्वलन गरी गरिएको थियो। यसै अवसरमा विद्यालयको स्वर्ण जयन्तीका अवसरमा सहयोग गर्ने दाताहरूको शिलालेख अनावरण गरिएको थियो।
समारोहमा विद्यालयका संस्थापक स्वर्गीय शिवराजकी धर्मपत्नी खनुमाया चन्द, एस.एल.सी. २०४९ समूह, विद्यालय सल्लाहकारहरू, प्रधानाध्यापक तथा प्रतिनिधिहरू, वडा अध्यक्षहरू, विभिन्न संघ–संस्थाका प्रतिनिधि, चन्दादाता, दानदाता, जग्गादाता, अक्षयकोषदाता, बुद्धिजीवी, समाजसेवी, शिक्षाप्रेमी, अभिभावक, शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा उपस्थित अतिथिहरूले विद्यालयको प्रगति र शैक्षिक उन्नतिका लागि शुभकामना मन्तव्य व्यक्त गरेका थिए। सो अवसरमा विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण गर्नुका साथै शिक्षक तथा कर्मचारीहरूलाई विभिन्न विधामा सम्मान गरिएको थियो।
यस वर्षको ‘उत्कृष्ट शिक्षक वर्ष पुरस्कार’ माध्यमिक तृतीय श्रेणीकी शिक्षिका ताराकुमारी श्रेष्ठलाई नगद रु. ११,१११ (एघार हजार एक सय एघार) सहित प्रदान गरिएको थियो।

कार्यक्रममा विद्यार्थीहरूको पी.टी. प्रदर्शन, नृत्य प्रस्तुतिका साथै अतिथिहरूलाई मायाको चिनो प्रदान गरिएको थियो। विद्यालय व्यवस्थापन समितिकी सदस्य यमुना श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने प्रधानाध्यापक लिलकुमार श्रेष्ठले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। कार्यक्रमको सञ्चालन शिक्षक मेनुका सारु र दिनेश गैह्रेले गर्नुभएको थियो।
कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण अतिथि, शिक्षक–कर्मचारी, विद्यार्थी तथा अभिभावकप्रति विद्यालय प्रशासनले हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page