विजयी सांसद वाग्ले गाउँ नफर्किएको भन्दै भानुवासी असन्तुष्ट
भानु (तनहुँ) — तनहुँ क्षेत्र नम्बर १ अन्तर्गत भानु नगरपालिकाका स्थानीय बासिन्दाले उपनिर्वाचनबाट विजयी सांसदले हालसम्म गाउँको भ्रमण नगरेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। निर्वाचित जनप्रतिनिधि जनतासँग सम्पर्कविहीन बनेको गुनासो उनीहरूको छ।
भानु नगरपालिका–४ स्थित आमा समूहकी अध्यक्ष सरला अधिकारीका अनुसार २०८० वैशाख १० गते सम्पन्न उपनिर्वाचनबाट निर्वाचित सांसद डा. स्वर्णीम वाग्ले हालसम्म एक पटक पनि गाउँ नआएको बताउनुभयो। उहाँले निर्वाचित जनप्रतिनिधिले मतदाताको भावना बुझ्दै नियमित रूपमा गाउँमा उपस्थित हुनुपर्ने आवश्यकता औंल्याउनुभयो।
“पहिलेका उम्मेदवारजस्तै जितेर गएपछि गाउँ नफर्किने प्रवृत्ति दोहोरिएको छ,” उहाँले भन्नुभयो, “यसपटक मतदाताले सोचविचार गरेर सही प्रतिनिधि चयन गरेका थिए।”
भानु–६ का एक स्थानीयका अनुसार गाउँमा खानेपानी, विद्युत्, सडक, शिक्षा र स्वास्थ्यजस्ता आधारभूत समस्या रहेका छन्। तर ती समस्याको समाधानका लागि जनप्रतिनिधिबाट ठोस पहल नदेखिएको उहाँहरूको गुनासो छ। “जनप्रतिनिधिले नीति बनाउने मात्रै हो, बजेट ल्याउने काम होइन भन्ने अभिव्यक्ति सुन्दा हामी निराश भएका छौँ,” उहाँले भन्नुभयो।
स्थानीय अगुवा विष्णुमाया श्रेष्ठले अवसर दिने राजनीतिक दलप्रति मतदाताको भरोसा बढ्दै गएको बताउनुभयो। उहाँका अनुसार अहिलेका मतदाता विकास र जनसम्पर्कमा सक्रिय उम्मेदवारतर्फ आकर्षित भइरहेका छन्।
त्यस्तै स्थानीय मञ्जु श्रेष्ठले अन्य उम्मेदवारको तुलनामा नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराई इमान्दार, सरल र विकासप्रेमी नेताका रूपमा चिनिएको बताउनुभयो। सामाजिक सञ्जालमा समेत उहाँप्रति नकारात्मक टिप्पणी कम देखिएको उहाँको भनाइ छ।

आगामी निर्वाचन नजिकिँदै जाँदा भानु क्षेत्रका मतदाताले गाउँसँग प्रत्यक्ष जोडिएर काम गर्ने र जनताका समस्याप्रति संवेदनशील प्रतिनिधि चयन गर्नुपर्नेमा जोड दिएका छन्।


























