झुलबहादुर आले स्मृति प्रतिष्ठानद्वारा दुर्गा भवानी मन्दिरमा प्रवेशद्वार निर्माणको तयारी

झुलबहादुर आले स्मृति प्रतिष्ठानद्वारा दुर्गा भवानी मन्दिरमा प्रवेशद्वार निर्माणको तयारी


तनहुँ। संविधानसभा सदस्य स्वर्गीय झुलबहादुर आलेको स्मृतिमा उनको परिवारद्वारा स्थापना गरिएको झुलबहादुर आले स्मृति प्रतिष्ठान ले तनहुँको ऋषिङ गाउँपालिका–७, राइथोकमा अवस्थित दुर्गा भवानी मन्दिरमा प्रवेशद्वार निर्माण गर्ने तयारी अघि बढाएको छ।
भुरे राजाको पालामा हतियार भण्डारण गर्ने स्थलका रूपमा परिचित उक्त स्थानमा रहेको मन्दिर हाल अलपत्र तथा भग्नावशेष अवस्थामा रहेकाले त्यसको ऐतिहासिक महत्व जोगाउँदै मर्मतसम्भारसहित प्रवेशद्वार निर्माण गर्न लागिएको प्रतिष्ठानले जनाएको छ। मन्दिर पूजा समितिसँगको सहकार्य र आपसी सहमतिअनुसार निर्माण कार्य सुरु गरिने बताइएको छ।


निर्माण कार्य सुरु गर्नु अघि स्थानीयस्तरमा कुनै असहमति वा गुनासो नआओस् भन्ने उद्देश्यले वडा कार्यालयमार्फत स्थानीयसँग समन्वयका लागि निवेदन दिने निर्णय गरिएको प्रतिष्ठानका अध्यक्ष तथा स्वर्गीय झुलबहादुर आलेका छोरा कमलबहादुर आलेले जानकारी दिए। स्थानीयको सहमति र साझा दृष्टिकोणका आधारमा प्रवेशद्वार निर्माण गरिने भएकाले यस विषयमा वडा कार्यालयले समन्वयकारी भूमिका निर्वाह गरिदिन अनुरोध गर्ने निर्णय गरिएको उनले बताए।
यसअघि पनि प्रतिष्ठानले सामाजिक उत्तरदायित्व अन्तर्गत विपन्न परिवारलाई सहयोग गर्दै आएको छ।
स्वर्गीय झुलबहादुर आले नेपाल संविधान २०७२ का हस्ताक्षरकर्ता हुनुका साथै नेपाली कांग्रेस तनहुँका महासमिति सदस्य, पूर्व क्षेत्रीय सभापति, पूर्व गाविस अध्यक्ष, पूर्व उपप्रधानपञ्चलगायत दर्जनौँ संघसंस्थामा सक्रिय भूमिका निर्वाह गरेका व्यक्तित्व थिए। उनी तनहुँको दक्षिणी भेगका लोकतान्त्रिक आन्दोलनका लोकप्रिय नेता, विकासप्रेमी, शिक्षासेवी तथा सामाजिक व्यक्तित्वका रूपमा परिचित थिए।
साथै, उनी जलदेवी प्राथमिक विद्यालय र शिव सरस्वती माध्यमिक विद्यालयका पूर्व अध्यक्ष, लिङ्दी खोला तथा वान्जा खोला लघु जलविद्युत् आयोजनाका पूर्व अध्यक्षसमेत रहेका थिए। स्वर्गीय आलेको २०७९ मंसिर ९ गते निधन भएको थियो।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page