तनहुँमा एचपिभी खोप अभियानबारे अन्तरक्रिया तथा अभिमुखीकरण सम्पन्न

तनहुँ — प्रदेश स्वास्थ्य कार्यालय तनहुँको आयोजनामा दमौलीमा एचपिभी (ह्युमन प्यापिलोमा भाइरस) खोप अभियानसम्बन्धी अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
गण्डकी प्रदेश सरकारअन्तर्गत स्वास्थ्य मन्त्रालय तथा प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँको सहकार्यमा दमौलीस्थित कर्मचारी मिलन केन्द्रको सभाहलमा कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रममा राष्ट्रिय खोप कार्यक्रमका उद्देश्य, खोपका मुख्य खम्बा, नेपाल सरकारको उच्च प्राथमिकतामा रहेको खोप कार्यक्रम तथा बालमृत्युदर घटाउन खोपले खेलेको भूमिकाबारे जानकारी गराइएको थियो।
प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँका प्रमुख अमर दवाडीले एचपिभी खोप सुरक्षित, प्रभावकारी र निःशुल्क रहेको स्पष्ट पार्दै खोपले जीवन रक्षा गर्ने बताउनुभयो। उहाँले राष्ट्रिय खोप तालिकामा समावेश खोप कार्यक्रम, जिल्लामा रहेका खोप केन्द्र, खोप कार्यक्रमको समीक्षा, बालमृत्युदरमा आएको कमी, पूर्ण खोप सुनिश्चितता घोषणाको अवस्था तथा पूर्ण खोप विद्यालय कार्यक्रमबारे जानकारी दिनुभयो।
कार्यक्रममा पाठेघरको मुखको क्यान्सरको वर्तमान अवस्था प्रस्तुत गर्दै प्रत्येक वर्ष करिब २ हजार १६९ महिलामा उक्त क्यान्सर देखिने अनुमान गरिएको जानकारी दिइयो। प्रारम्भिक अवस्थामा एचपिभी संक्रमण हुँदा लक्षण नदेखिए पनि लामो समयसम्म संक्रमण रहँदा क्यान्सर हुने जोखिम रहने भएकाले खोपमार्फत यसको रोकथाम गर्न सकिनेमा जोड दिइएको थियो।
खोप अभियान सञ्चालनका क्रममा देखिएका चुनौतीहरू, विशेषगरी सहयोग कटौतीका विषयमा समेत छलफल गरिएको थियो। कार्यक्रमको सहजीकरण जनस्वास्थ्य अधिकृत पुष्प खनालले गर्नुभएको थियो भने जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो।
चालु आर्थिक वर्ष २०८२ का लागि एचपिभी खोपका लक्षित समूहमा कक्षा ६ मा अध्ययनरत छात्रा, विद्यालय नजाने १० वर्ष उमेरका किशोरी तथा गत आर्थिक वर्षमा खोप छुट भई हाल कक्षा ७ देखि १० सम्म अध्ययनरत छात्राहरू रहेका छन्।
खोप कार्यक्रम माघ २९ र फागुन १ गते व्यास नगरपालिका, भिमाद नगरपालिका, बन्दीपुर र देवघाट गाउँपालिकामा सञ्चालन हुने जनाइएको छ। यस्तै फागुन ४ र ५ गते भानु नगरपालिका, शुक्लागण्डकी नगरपालिका, म्याग्दे, ऋषिङ, घिरिङ र आँबुखैरेनी गाउँपालिकामा खोप सञ्चालन गरिने खोप सुपरभाइजर शंकरबाबु अधिकारीले जानकारी दिनुभयो।

कार्यक्रममा व्यास नगरपालिकाका प्रमुख वैकुण्ठनाथ न्यौपाने, तनहुँ उद्योग वाणिज्य सङ्घका अध्यक्ष ईमकुमार मल्ल, नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष डीपी अधिकारी, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।


























