निर्मल माविको ५७औँ वार्षिकोत्सव सम्पन्न
तनहुँ, फागुन ७।
व्यास नगरपालिका–१, भादगाउँस्थित निर्मल माध्यमिक विद्यालयले ५७औँ वार्षिकोत्सव प्रजातन्त्र दिवसका अवसरमा भव्य रूपमा सम्पन्न गरेको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तमबहादुर दरैको सभापतित्वमा सम्पन्न कार्यक्रममा विद्यालयका संरक्षक, पूर्व प्रधानाध्यापक तथा वडा नं. १ का वडाध्यक्ष रमेशचन्द्र हड्खले प्रमुख अतिथि रहनुभएको थियो।
कार्यक्रममा प्रधानाध्यापक गणेशचन्द्र बस्नेतले विद्यालयको वार्षिक प्रतिवेदन तथा प्रगति विवरण प्रस्तुत गर्नुभयो। सो अवसरमा विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्ने उद्देश्यले विद्यालयका पूर्व प्रधानाध्यापक कृष्णराज वाग्लेले रु १ लाख ९ हजारको “कृष्णराज वाग्ले गरिब तथा जेहेन्दार छात्रवृत्ति अक्षयकोष” स्थापना गर्नुभएको छ। त्यस्तै, पूर्व विद्यार्थी सागर लोहनीले रु १ लाख ८० हजारको “सान्भि केयर छात्रवृत्ति” अक्षयकोष स्थापना गर्नुभएको जानकारी दिइयो।
विद्यालयका पूर्व विद्यार्थी, पर्यटन तथा संस्कृतिविद् हरिसिंङ गुरुङले विद्यार्थी जीवन र खेलकुदको महत्वबारे प्रकाश पार्दै आफ्नी आमाको नाममा स्थापना गरिएको “नन्दकुमारी खेलकुद विकास अक्षयकोष”बाट एथलेटिक्सकी छात्रा आस्ना थापा र भलिबलका छात्र देउबहादुर आलेलाई जनही रु ५ हजारका दरले छात्रवृत्ति प्रदान गर्नुभयो।

कार्यक्रममा विभिन्न शैक्षिक तथा खेलकुद विधामा उत्कृष्ट विद्यार्थीहरूलाई विभिन्न अक्षयकोषबाट छात्रवृत्ति तथा पुरस्कार वितरण गरिएको थियो। साथै, विद्यार्थीहरूले सांस्कृतिक नृत्य तथा गायन प्रस्तुत गरी कार्यक्रमलाई आकर्षक बनाएका थिए।
गत शैक्षिक सत्रमा कक्षा ८, एसइई तथा एसएलसी परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्न योगदान पुर्याउने १७ जना शिक्षकहरूलाई पनि सम्मान गरिएको थियो।
कार्यक्रममा विद्यार्थीका तर्फबाट विनम्र ढकाल, अभिभावकका तर्फबाट लक्ष्मी श्रेष्ठ र विष्णु पाण्डे, वरिष्ठ शिक्षक महेन्द्र न्यौपाने तथा शिक्षक प्रतिनिधि लोकराज सेढाईं लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
प्रमुख अतिथिले विद्यालय स्थापना तथा विकासमा योगदान गर्ने शिक्षाप्रेमी र जग्गादाताहरूप्रति सम्मान व्यक्त गर्दै विद्यालयको निरन्तर प्रगतिप्रति खुशी व्यक्त गर्नुभयो। समापन मन्तव्यमा सभापति दरैले विद्यालयको उन्नतिका लागि योगदान गर्ने सबैप्रति धन्यवाद ज्ञापन गर्नुभयो। कार्यक्रम सहायक प्रधानाध्यापक विमल सिग्देलले सञ्चालन गर्नुभएको थियो भने स्वागत मन्तव्य सहायक प्रधानाध्यापक शिवलाल पन्थले व्यक्त गर्नुभएको थियो।


























