सङ्घर्षको ह्विलचियर, सफलताको उडान: बुद्धिकुमारको दृढताले फेरिएको परिवारको तस्बिर
तनहुँ, व्यास नगरपालिका–६ (सेखाटार),
शारीरिक रूपमा अशक्त भए पनि आत्मबलमा दृढ व्यास नगरपालिका–६, सेखाटारका बुद्धिकुमार श्रेष्ठले संघर्षलाई सफलतामा रूपान्तरण गरेका छन्। २३ वर्षअघि वैदेशिक रोजगारीका लागि साउदी अरब पुगेका श्रेष्ठ एक दुर्घटनापछि दुवै खुट्टा गुमाएर स्वदेश फर्किएका थिए। त्यसयता उनी ह्विलचियरको सहारामा जीवनयापन गर्दै आएका छन्।
दुर्घटनापछि सुरुका दिनहरू उनका लागि निकै कठिन रहे। शारीरिक असक्ततासँगै सामाजिक व्यवहार र आर्थिक अभावले मानसिक तनाव थपिएको थियो। तर ‘ख’ वर्गको निलो अपाङ्गता परिचयपत्रधारी श्रेष्ठले परिस्थितिलाई कमजोरी बन्न दिएनन्। राज्यको भत्तामा निर्भर हुनुभन्दा उनले आफ्नै पौरखमा भरोसा गर्दै आत्मनिर्भर जीवन रोजे।
हाल उनी घरका दैनिक कामदेखि कृषि कार्यसम्म आफैं संलग्न छन्। भान्सा सम्हाल्ने, बाख्रालाई घाँस–कुँडो गर्ने जस्ता काममा सक्रिय रहँदै उनले “अशक्तता भनेको असक्षमता होइन” भन्ने सन्देश दिएका छन्।
उनको जीवनमा अर्को महत्वपूर्ण मोड तब आयो, जब कान्छी छोरी प्रीतिले जापानमा अध्ययन तथा रोजगारीको अवसर पाइन्। त्यसका लागि आवश्यक १७ लाख रुपैयाँ जुटाउनुपर्ने चुनौती थियो। बैंकको प्रक्रिया जटिल देखिएपछि उनले गाउँकै विश्वास रोजे। स्थानीयवासीको भरोसाका कारण १७ लाखको सट्टा ३० लाख रुपैयाँसम्म सहयोग जुट्ने अवस्था बनेको थियो।
छोरी जापान गएको ११ महिनाभित्रै उनले सबै ऋण चुक्ता गरे। यस उपलब्धिले समाजमा सकारात्मक सन्देश दिएको छ। हाल उनका तीन छोरी स्पेन, दुबई र जापानमा वैदेशिक रोजगारीमा कार्यरत छन् भने छोरा विवेक कक्षा १२ मा अध्ययनरत छन्।
शारीरिक रूपमा अति अशक्त भए पनि अभिभावकीय भूमिकामा सशक्त देखिएका श्रेष्ठको अबको चाहना एउटा स्कुटर खरिद गरी स्वतन्त्र रूपमा हिँडडुल गर्ने रहेको छ। गाउँको कच्ची सडकले केही चुनौती थपे पनि उनी आत्मविश्वासका साथ भन्छन्, “मैले संघर्ष गरेको छु, हिम्मत हारेको छैन।”

बुद्धिकुमार श्रेष्ठको जीवनकथा दृढ इच्छाशक्ति, इमानदारी र परिश्रमले असम्भवजस्तो लाग्ने परिस्थिति पनि बदल्न सकिन्छ भन्ने उदाहरण बनेको छ।


























