दमौलीका युवा व्यवसायी कृष्ण कुमार श्रेष्ठ कांग्रेस प्रवेश !
दमौली — दमौलीका युवा व्यवसायी तथा बास्केटबल प्रशिक्षक कृष्ण कुमार श्रेष्ठ (जेके) ले नेपाली कांग्रेसमा प्रवेश गर्ने घोषणा गरेका छन्।
स्थानीय युवा नेता तथा कांग्रेस महाधिवेशन प्रतिनिधि मोहन कुमार श्रेष्ठ को आग्रहमा आयोजित युवा भेलामा श्रेष्ठले पार्टी प्रवेशको घोषणा गरेका हुन्। उक्त कार्यक्रम दमौलीमा मोहन श्रेष्ठकै आयोजनामा सम्पन्न भएको थियो।
श्रेष्ठ यसअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग आबद्ध देखिएका थिए। पछिल्लो समय भने उनले नेपाली कांग्रेसप्रति आस्था प्रकट गर्दै सक्रिय राजनीतिमा लाग्ने निर्णय गरेको बताएका छन्।
उनले छिट्टै गगन थापा को हातबाट औपचारिक सदस्यता लिने तयारी रहेको जानकारी दिए।
युवा व्यवसायीका रूपमा चिनिएका श्रेष्ठ खेलकुद क्षेत्रमा समेत सक्रिय छन्। उनी बास्केटबल प्रशिक्षकका रूपमा स्थानीय युवामाझ परिचित छन्।

कार्यक्रममा सहभागी वक्ताहरूले युवाहरूको सक्रिय सहभागिताले पार्टी संगठन सुदृढ हुने विश्वास व्यक्त गरेका थिए। श्रेष्ठको प्रवेशले दमौली क्षेत्रमा कांग्रेसको संगठन विस्तारमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।


























