तनहुँ–१ का सांसद डा. वाग्लेले मतदातालाई समय नदिएको भन्दै असन्तुष्टि – माला ओइलायाे !

तनहुँ–१ का सांसद डा. वाग्लेले मतदातालाई समय नदिएको भन्दै असन्तुष्टि – माला ओइलायाे !

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्ले तनहुँ–१ बाट निर्वाचित भएपछि मतदातालाई पर्याप्त समय नदिई हिँडेको भन्दै केही मतदाताले असन्तुष्टि जनाएका छन्।
मतगणना परिणाम घोषणा हुनुभन्दा अगाडिदेखि नै दमौलीस्थित मतगणना स्थल वरिपरि ठूलो संख्यामा समर्थक तथा मतदाता भेला भएका थिए। उनीहरूले विजयी उम्मेदवारलाई फूलका माला लगाएर स्वागत गर्ने तथा शुभकामना दिने तयारी गरेका थिए।
तर डा. वाग्लेले जितको प्रमाणपत्र लिएपछि सीमित व्यक्तिहरूको मात्र माला र टीका ग्रहण गरी मतदाता माझ सम्बोधन गर्दै छिट्टै कार्यक्रमस्थलबाट हिँडेका थिए ।
मतदाताका अनुसार, प्रमाणपत्र ग्रहण गरेपछि उनी यहाँ बधाई शुभकामना दिन लामो समयदेखि प्रतिक्षारत ठुलो समुहलाई प्रयाप्त समय नदिइ हतार–हतार गाडी चढेर सहिद उद्गमस्थल पुलिमर्याङतर्फ लागेका थिए। जसका कारण त्यहाँ उपस्थित धेरै मतदाताले उनलाई प्रत्यक्ष भेटेर बधाई दिन पाएका थिएनन्।
स्थानीय मिना थापाले भनिन्, “हामीले यस चुनावी जितका लागि निकै ठूलो योगदान दिएका छौं। मैले आफ्नै हातले फूलको माला बुनेर ल्याएको थिएँ, तर लगाउनै पाइएन। यस्तो व्यवहारले जनताको आत्मसम्मानमा चोट पुगेको जस्तो लाग्यो।”
त्यस्तै, व्यास–१ की रश्मि क्षेत्रीले पनि आफूले फूलको गुच्छा लिएर आएको भए पनि दिन नपाएको बताइन्। “हामीले ठूलो आशा, भरोसा र विश्वास गरेर मत दिएका हौं। तर यस्तो व्यवहारले जनतालाई महत्त्व नदिएको जस्तो महसुस हुन्छ,” उनले भनिन्।
तनहुँ–१ को उपनिर्वाचनमा डा. वाग्लेले स्पष्ट जित हासिल गरेका थिए, जसले उनलाई रास्वपाका प्रभावशाली नेतामध्ये एक बनाएको छ। तर, मतदातासँगको यस्तो व्यवहारले भविष्यमा जनसम्पर्कका सवालमा चुनौती खडा हुन सक्ने स्थानीयको भनाइ छ।
उता, पार्टी स्रोतका अनुसार विजयी उम्मेदवारलाई सहिद उद्गमस्थल पुलिमर्याङमा पुग्नुपर्ने कार्यक्रम भएकाले उनी छिटो हिँड्नुपरेको थियो। पार्टीले अनावश्यक तामझाम नगर्न निर्देशन दिएको र सोही अनुसार छोटो मन्तव्य दिएर कार्यक्रम टुंग्याइएको बताइएको छ।


विश्लेषकहरूका अनुसार लोकतन्त्रमा चुनाव जित्नु मात्र पर्याप्त हुँदैन; जनताको विश्वास, सम्मान र आत्मीय सम्बन्ध कायम राख्नु पनि उत्तिकै महत्त्वपूर्ण मानिन्छ। स्थानीयले भने आँफुहरूले जिताएकाे उम्मेदवार सडकमै आँफुहरूसँगै देख्न , बाेल्न र शुभकामना आदानप्रदान गर्नकाे लागि समय दिएर बसी सबैको मन जितेकाे देख्न चाहेको बताएका छन् ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page