तनहुँ–२ मा रास्वपाका न्यौपानेको ऐतिहासिक विजय, तलब–भत्ता नलिने घोषणाले बढायो लोकप्रियता

तनहुँ–२ मा रास्वपाका न्यौपानेको ऐतिहासिक विजय, तलब–भत्ता नलिने घोषणाले बढायो लोकप्रियता

तनहुँ – प्रतिनिधि सभा निर्वाचन–२०८२ अन्तर्गत तनहुँ क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार इन्जिनियर श्रीराम न्यौपानेले प्रभावशाली मतान्तरसहित विजयी हासिल गरेका छन्। प्रारम्भदेखि नै मतगणनामा अग्रता कायम राख्दै न्यौपानेले अन्ततः ३२,६८७ मत प्राप्त गर्दै स्पष्ट जित निकालेका हुन्।
उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार तथा निवर्तमान सांसद शंकर भण्डारीले १४,१३५ मत प्राप्त गरे। यसरी न्यौपानेले भण्डारीलाई १८,५५२ मतान्तरले पराजित गरेका छन्। तेस्रो स्थानमा नेकपा (एमाले) का उम्मेदवार केदार सिग्देल ११,६६८ मतसहित तेस्रोमा रहेका छन्।
अन्य उम्मेदवारतर्फ तारा चुनाव चिन्हले १,९५३, हलोले १,११७, भालेले ४९५, मौरीले १०५, गुलाफको फूलले १२२, घरले १७२, हातले ९५ र मादलले ३० मत प्राप्त गरेका छन्।
जिल्ला निर्वाचन कार्यालयका अनुसार तनहुँ–२ मा कुल १,२७,५१५ मतदाता रहेका थिए। जसमध्ये ६६,६९८ मत खसेको थियो भने ३,५२२ मत बदर भएको छ।
विजयपछि समर्थकहरूको बाक्लो उपस्थितिमा सम्बोधन गर्दै न्यौपानेले आफू सांसद भएपछि राज्यबाट पाउने तलब–भत्ता नलिने घोषणा गरे। उनले उक्त रकम तनहुँ–२ का आमा समूह, बालबालिका तथा असहाय र दिनदुःखी नागरिकहरूको हितमा खर्च गर्ने र त्यसको विवरण पारदर्शी रूपमा सार्वजनिक गर्ने प्रतिबद्धता जनाए।
उनले निर्वाचनका क्रममा जनतासँग गरेका प्रतिबद्धताहरू पूरा गर्न दिनरात नभनी काम गर्ने बताए। क्षेत्रका रोकिएका तथा अलपत्र योजनाहरूलाई आफ्नो क्षमता अनुसार अगाडि बढाउने पनि उनको भनाइ थियो। साथै उनले हरेक तीन महिनामा आफ्नाे क्षेत्रका सबै पालिकामा पुगेर जनतासँग प्रत्यक्ष भेटघाट, छलफल तथा आवश्यकताबारे बुझ्ने कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे।

न्यौपानेको यो निर्णय र प्रतिवद्धताप्रति मतदाता तथा सर्वसाधारणबाट व्यापक प्रशंसा भइरहेको छ। धेरैले यसलाई नयाँ राजनीतिक संस्कार र जनउत्तरदायी नेतृत्वको संकेतका रूपमा लिएका छन्। तनहुँ–२ मा उनको जितसँगै समर्थकहरू उत्साहित देखिएका छन् भने आगामी दिनमा उनले जनअपेक्षाअनुसार काम गर्ने विश्वास व्यक्त गरिएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page