मानुङकोटकाे रिसोर्टमा आगलागी, करिब दुई लाख बराबरको क्षति
तनहुँ — जिल्ला तनहुँको मानुङकोट स्थित एक रिसोर्टमा आगलागी हुँदा करिब दुई लाख रुपैयाँ बराबरको क्षति भएको छ।
जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार मिति २०८२ फागुन २९ गते राति करिब १२:४५ बजे ब्यास नगरपालिका–५ मानुङकोटमा रहेको पोखरा मानुङकोट रिसोर्टमा विद्युत् तार सर्ट भई आगलागी भएको हो। उक्त रिसोर्ट शिव ताम्राकार र पूर्ण बहादुर श्रेष्ठ ले संयुक्त रूपमा सञ्चालन गर्दै आएका थिए।
टिनले बनेको एकतले रिसोर्टमा आगलागी हुँदा लत्ताकपडा, मदिरा, किराना सामान तथा अन्य सामग्री पूर्ण रूपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ। घटनामा कुनै मानवीय वा चौपाया क्षति भने भएको छैन।
प्रहरीका अनुसार स्थानीय बासिन्दा र प्रहरीको संयुक्त प्रयासमा आगो राति करिब २:३० बजे पूर्ण रूपमा नियन्त्रणमा ल्याइएको थियो। आगलागीबाट नगद रकमसमेत जलेको अनुमान गरिएको भए पनि रकम यकिन भइसकेको छैन।

घटनाको मुचुल्का तथा थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।


























