एनआरएनए युरोप उपसंयोजकमा शुक्लागण्डकीका यज्ञ नारायण पौडेलको उम्मेदवारी

एनआरएनए युरोप उपसंयोजकमा शुक्लागण्डकीका यज्ञ नारायण पौडेलको उम्मेदवारी

गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी १२औँ महाधिवेशनका लागि युरोप उपसंयोजक (DRC) पदमा तनहुँको शुक्लागण्डकी नगरपालिका निवासी यज्ञ नारायण पौडेलले उम्मेदवारी घोषणा गरेका छन्।
युरोपमा बसोबास गर्दै आएका पौडेलले प्रवासी नेपाली समुदायको हक–हितका लागि लामो समयदेखि सक्रिय रूपमा काम गर्दै आएका छन्। उनले महाधिवेशनलाई केवल निर्वाचन प्रक्रिया मात्र नभई विश्वास, एकता र संस्थागत सुधारको अवसरका रूपमा लिनुपर्ने बताएका छन्।
पौडेलका अनुसार युरोप विविध भाषा, संस्कृति र कानुनी प्रणाली भएको क्षेत्र भए पनि सबैलाई जोड्ने साझा आधार नेपाली पहिचान हो। यही आधारमा एनआरएनए युरोप संरचनालाई थप पारदर्शी, उत्तरदायी र प्रभावकारी बनाउने आफ्नो लक्ष्य रहेको उनले बताएका छन्।
उनले राष्ट्रिय समन्वय परिषद् (NCC) र एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) बीच समन्वय बढाएर परिणाममुखी काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। साथै, संघको विश्वसनीयता र साखलाई सुदृढ बनाउन नयाँ सोच र योजनासहित अघि बढ्नुपर्ने आवश्यकता औँल्याएका छन्।
पौडेलले युवा तथा नयाँ पुस्तालाई संघमा सक्रिय रूपमा जोड्दै नेपालसँगको आर्थिक, सामाजिक, पर्यटन तथा कला–संस्कृति सम्बन्धलाई अझ बलियो बनाउने योजना पनि सार्वजनिक गरेका छन्।


संस्थाभित्र गुटगत राजनीति र आरोप–प्रत्यारोप भन्दा सहकार्य, पारदर्शिता र प्रणालीमा आधारित नेतृत्व आवश्यक रहेको बताउँदै उनले प्रवासी नेपाली समुदायलाई एकताबद्ध भएर संस्थालाई सुदृढ बनाउन आग्रह गरेका छन्।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page