मनकामना गणको २४औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

मनकामना गणको २४औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न


तनहुँ — सशस्त्र प्रहरी बल, नेपाल नं. २३ गण हेडक्वाटर मनकामना, तनहुँको २४औँ स्थापना दिवस शुक्रबार विविध कार्यक्रमका साथ मनाइएको छ।
स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल नं. ४ मुक्तिनाथ बाहिनी मुख्यालय कास्कीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक दिपेन्द्र शाह प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो।
कार्यक्रम उद्घाटन गर्दै नायव महानिरीक्षक शाहले आम नागरिकको शान्ति सुरक्षा र अमनचयन कायम राख्न सशस्त्र प्रहरीले कुनै पनि त्रुटि हुन नदिई आफ्नो कर्तव्य जिम्मेवारीपूर्वक पूरा गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले भर्खरै सम्पन्न निर्वाचनमा सशस्त्र प्रहरी बलले खेलेको भूमिका तथा अन्य निकायहरूसँगको सहकार्य सकारात्मक रहेको पनि उल्लेख गर्नुभयो। साथै जुनसुकै काम सफल बनाउन इच्छाशक्ति, धैर्यता र अठोट आवश्यक पर्ने बताउँदै वीरगति प्राप्त अमर सहिदहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभयो।
कार्यक्रममा बोल्दै भानु नगरपालिकाका मेयर आनन्दराज त्रिपाठीले विपद्को समयमा सशस्त्र प्रहरीको भूमिका अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्दै सामाजिक कार्यमा समेत नगरपालिकासँग सहकार्य गर्दै आएको भन्दै प्रशंसा गर्नुभयो।
त्यस्तै तनहुँका प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले सीमा सुरक्षा, दंगा नियन्त्रण, विपद् व्यवस्थापन तथा शान्ति सुव्यवस्था कायम गर्न सशस्त्र प्रहरीको भूमिका उल्लेखनीय रहेको बताउनुभयो।
कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी दिपक रेग्मी, जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरीक्षक टेकबहादुर कार्की, नेपाली सेनाको कालीभञ्जन गण (ई) दमौलीका गणपति प्रमुख सेनानी हरि खड्का, भद्रदल गणका गणपति गौरव सिंह क्षेत्री, राष्ट्रिय अनुसन्धानका प्रमुख मनोज ढकाल लगायत विभिन्न सुरक्षा निकायका अधिकारी, वीर सहिद परिवार, अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारी तथा स्थानीय सर्वसाधारणको सहभागिता रहेको थियो।
मनकामना गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक श्रीराम कुँवरको अध्यक्षतामा आयोजित कार्यक्रममा राष्ट्र र जनताको सुरक्षाका लागि जीवन आहुति दिने वीर सहिदहरूको योगदानको स्मरण गर्दै सहिद परिवारलाई सम्मान गरिएको थियो।
यसै अवसरमा उत्कृष्ट कार्य गर्ने सशस्त्र प्रहरी कर्मचारीहरूलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको थियो भने विभिन्न खेलकुद प्रतियोगितामा उत्कृष्ट हुने कर्मचारीहरूलाई मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो। साथै मासिक उत्कृष्ट जवानलाई पनि पुरस्कार वितरण गरिएको जनाइएको छ।
कार्यक्रमलाई थप आकर्षक बनाउन सशस्त्र प्रहरी तथा स्थानीय कलाकारहरूले कविता वाचन, गीत तथा नृत्य प्रस्तुत गरेका थिए। स्थापना दिवसको अवसर पारेर सरसफाइ कार्यक्रमसहित सामाजिक उत्तरदायित्वका विभिन्न कार्यक्रमहरू पनि सञ्चालन गरिएको मनकामना गणले जनाएको छ।


कार्यक्रमको समापन गर्दै गण प्रमुख सशस्त्र प्रहरी उपरीक्षक राम कुँवरले सशस्त्र प्रहरी बल राष्ट्र र नागरिकको सुरक्षामा सधैं प्रतिबद्ध रहेको उल्लेख गर्दै आगामी दिनमा अझ प्रभावकारी रूपमा सेवा प्रवाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page