सुन्धाराको होटलबाट खैरो हेरोइनसहित बन्दीपुरका शाक्य सहित तीन पक्राउ
काठमाडौँ महानगरपालिका–११ सुन्धारास्थित एक होटलबाट प्रहरीले खैरो हेरोइनसहित तीन जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँ अन्तर्गतको टोलीले सुन्धारामा रहेको होटल न्यु निप्पोनबाट चितवनको भरतपुर घर भएकी ४० वर्षीया सपना गुप्ता, तनहुँको बन्दीपुर गाउँपालिका घर भएका ४२ वर्षीय लुजा शाक्य तथा कास्की घर भएका २२ वर्षीय जोशिल बानियाँलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार चैत ५ गते उनीहरूलाई लागुऔषध किनबेच गर्न लागेको अवस्थामा पक्राउ गरिएको हो। पक्राउ परेका व्यक्तिहरूबाट करिब ८० ग्राम खैरो हेरोइन बरामद गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक (एसपी) मनोहर भट्टले जानकारी दिए।
पक्राउ परेका लुजा शाक्य तनहुँ घर भई हाल चितवन बसोबास गर्दै आएका तथा कृषि तथा भेटेरिनरी क्याम्पसमा अध्यापनरत शिक्षक रहेको पनि प्रहरीले जनाएको छ।

उनीहरूविरुद्ध थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।





























