एकीकृत सेवा कार्यालय दमौलीद्वारा १५ उद्यमीलाई अनुदानमा प्रविधि हस्तान्तरण
तनहुँ, ९ चैत्र
एकीकृत सेवा कार्यालय तनहुँले उद्योग प्रवर्द्धन कार्यक्रम अन्तर्गत १५ जना उद्यमीलाई अनुदानमा प्रविधि हस्तान्तरण गरेको छ।
कार्यालय प्रमुख ईश्वरीप्रसाद रेग्मीका अनुसार उद्योग सञ्चालन गर्दै आएका उद्यमीलाई प्रोत्साहन गर्ने उद्देश्यले सिलाइ मेसिन प्रदान गरिएको हो। प्रति मेसिन रु. ३९ हजार मूल्य बराबरको सामग्री ५० प्रतिशत अनुदानमा उपलब्ध गराइएको छ।
उहाँका अनुसार यसै कार्यक्रम अन्तर्गत दुई जना कृषकलाई हाते ट्र्याक्टर तथा एक जनालाई कुटानी–पिसानी मेसिन छिट्टै हस्तान्तरण गरिनेछ।
सिलाइ मेसिन प्राप्त गर्ने उद्यमीहरूमा व्यास–२ की कल्पना मजकोटी (कल्पना टेलर्स), शुक्लागण्डकी–४ की रेखा परियार (दीपक टेलर्स), व्यास–८ की तिलकुमारी मल्ल (किन्जल टेलर्स), व्यास–२ की सरस्वती श्रेष्ठ (सरु लेडिज टेलर्स) र एलिसा गुरुङ (एलिसा लेडिज टेलर्स) रहेका छन्।
त्यसैगरी, शुक्लागण्डकी–९ की राजकुमारी गहतराज बिक (सनम टेलर्स एण्ड ट्रेनिङ सेन्टर), शुक्लागण्डकी–२ की मिना सुवेदी ढुङ्गाना (मिना टेलर्स), ऋषिङ्ग–१ की दिलमाया थापा (दिलु सिलाइ उद्योग कटिङ), व्यास–२ की कमला गौतम अर्गली (बरेली टेलर्स), कमल नारायण परियार (जि.एस. टेलर्स) र सुकबहादुर दमाई (सन्तोष सिलाइ उद्योग, भीमाद–६) पनि रहेका छन्।
यसैगरी, देवघाट गाउँपालिका–१ स्थित बसेनी कृषि फर्म र व्यास–१ को भण्डारी कृषि तथा पशु फर्मलाई हाते ट्र्याक्टर तथा व्यास–११ स्थित नवीन बाख्रा फर्मलाई दाना बनाउने कुटानी–पिसानी मेसिन उपलब्ध गराइने भएको छ।
उद्यमीले प्राप्त गरेको प्रविधि उद्योग सञ्चालन बाहेक अन्य प्रयोजनका लागि हस्तान्तरण वा बिक्री गर्न नपाइने कार्यालयले जनाएको छ। प्रमुख रेग्मीले चेतावनी दिँदै भन्नुभयो, “यदि यस्तो कार्य गरेको पाइएमा लागत रकम असुल गरी कानुन बमोजिम कारबाही गरिनेछ।”

कार्यालयका अनुसार अघिल्लो पाँच आर्थिक वर्षमा कुनै पनि निकायबाट अनुदान नलिएको स्वघोषणा पत्रका आधारमा उद्यमी छनोट गरिएको हो। साथै, एकपटक प्रविधि प्राप्त गरेका व्यक्तिले पाँच वर्षसम्म पुनः यस्तो सुविधा लिन नपाउने व्यवस्था रहेको छ।


























