झापुटार स्थित सेती नदीमाथि निर्माणाधीन मोटरेबल पुलको काम पुनः तीव्र
तनहुँ — व्यास नगरपालिका–३ देउरालीनगर र ऋषिङ गाउँपालिका–१ झापुटार जोड्ने सेती नदीमाथि निर्माणाधीन मोटर गुड्ने पुलको काम पुनः तीव्र गतिमा अघि बढेको छ। केही समय बजेट अभावका कारण रोकिएको बताइएको उक्त पुल निर्माण अहिले फेरि तिव्र रूपमा अघि बढाइएको हो।
विसं २०७७ मङ्सिर १९ गते सम्झौता भई सुरु गरिएको पुल निर्माण कार्य २०८० जेठ ९ गते सम्पन्न गर्ने लक्ष्य राखिएको थियो। तर विभिन्न कारणले समयमै सम्पन्न हुन नसक्दा पटक–पटक म्याद थप हुँदै आएको छ। हाल निर्माण व्यवसायी रसुवा इलाइट जेभीले पुल निर्माणको काम गरिरहेको छ।
एक सय ५४ मिटर लम्बाइ र ९.५० मिटर चौडाइ रहेको पुल पाइल फाउण्डेसन प्रविधिमा आधारित स्टिल ट्रस संरचनामा निर्माण भइरहेको पूर्वाधार विकास कार्यालयले जनाएको छ। पुल दुई स्पानको हुनेछ र स्टिल पार्ट्सको फेब्रिकेसन कार्य सम्पन्न भइसकेको छ।
हालसम्म पुलको भौतिक प्रगति ५० प्रतिशतभन्दा बढी भएको बताइएको छ। चालु आर्थिक वर्षभित्र एक स्पान निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको र उक्त कार्य पूरा भएसँगै करिब ६० प्रतिशत प्रगति हासिल हुने जनाइएको छ। आगामी आर्थिक वर्षभित्र सम्पूर्ण पुल निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
गण्डकी प्रदेश सरकारको ३२ करोड ४० लाख २७ हजार ३९४ रुपैयाँ लागतमा निर्माण भइरहेको यो पुल सम्पन्न भएपछि व्यास र ऋषिङ क्षेत्रका सर्वसाधारणलाई आवतजावतमा ठूलो सहजता हुने अपेक्षा गरिएको छ।
हाल सो स्थानमा रहेको झोलुङ्गे पुलबाट स्थानीयले जोखिम मोलेर दुईपाङ्ग्रे सवारीसाधनसमेत वारपार गर्दै आएका छन्। साँघुरो संरचना र भीडभाडका कारण दुर्घटनाको सम्भावना उच्च रहेको छ।

पुल निर्माणाधीन स्थानबाट दमौली बजार पुग्न करिब ५०० मिटर मात्र दूरी पर्छ भने हाल झापुटारबाट दमौली पुग्न झण्डै ३ किलोमिटर घुम्नुपर्ने अवस्था छ। यसले स्थानीय बासिन्दाको समय र खर्च दुवै बढाएको छ।
वर्षौंदेखि पक्की पुलको माग गर्दै आएका स्थानीयवासी काम सुरु हुँदा उत्साहित भए पनि केही वर्ष काम सुस्त हुँदा निराश बनेका थिए। अहिले पुनः निर्माणले गति लिएसँगै उनीहरूमा आशा जागेको छ।


























