जिल्ला समन्वय तनहुँकाे १६९ राेपनी जग्गा , भुमाफियाको रजाइँ, नयाँ सरकारको चासो !
तनहुँ — जिल्ला समन्वय समिति तनहुँको स्वामित्वमा रहेकाे १६९ राेपनी ३ आना जग्गा मध्ये अधिकांश जग्गाहरू लामो समयदेखि अतिक्रमणमा परेको तथ्य सार्वजनिक भएसँगै नयाँ सरकारको चासो बढ्न थालेको छ। तत्कालीन जिल्ला विकास समिति हुँदादेखि नै ती जग्गाहरू अनाधिकृत रूपमा प्रयोग हुँदै आएको पाइएको छ।
समितिको नाममा लालपुर्जा रहेको व्यास नगरपालिका–३ देउरालनगरस्थित २९ रोपनी जग्गा हाल १५८ जनाले अनाधिकृत रूपमा भोगचलन गर्दै आएका छन्। उक्त जग्गामध्ये कित्ता नम्बर ३४ को १५ रोपनी ३ आना १ पैसा ३ दाम र कित्ता नम्बर ३५ को १४ रोपनी ६ आना १ दाम क्षेत्रफल अतिक्रमणमा परेको हो।
यस्तै, व्यास–२ स्थित ५ रोपनी ३ आना २ पैसा जग्गा केही व्यक्तिहरूले न्यून भाडामा प्रयोग गरिरहेका छन् भने व्यास–३ को ४ रोपनी १४ आना ३ पैसा ३ दाम जग्गा विभिन्न संघ–संस्थाले भोगचलन गर्दै आएका छन्। अर्कोतर्फ, ६ रोपनी १३ आना २ पैसा ३ दाम जग्गा भाडामा दिई ट्रेङ सेन्टर सञ्चालन गरिएको छ।
समितिको विवरणअनुसार अन्य स्थानहरूमा समेत साना–ठूला गरी उल्लेख्य परिमाणमा जग्गा रहेको छ, जसको प्रभावकारी व्यवस्थापन हुन सकेको छैन।
यसबीच, समन्वय समितिको नाममा रहेका सटरहरूबाट हुने आम्दानीले ठूलो आर्थिक सम्भावना देखाएको छ। गतवर्षनै बजार क्षेत्रमा रहेका करिब ९० वटा सटरबाट मासिक करिब १० लाख रुपैयाँ आम्दानी भइरहेको सार्वजनिक भएको थियो । गणेशमान चोकका ४७ सटरबाट वार्षिक झण्डै १ करोड रुपैयाँ र मालपोत लाइनका २५ सटरबाट करिब ५० लाख रुपैयाँ आम्दानी हुने अनुमान पहिल्यैदेखि गरिएको थियो । यसरी समग्रमा समितिको वार्षिक आम्दानी करिब २ करोड ५० लाख रुपैयाँ हाराहारी पुग्ने देखिएको स्रोतले जनाएको छ।
त्यस्तै, व्यास नगरपालिका–२ स्थित कित्ता नम्बर १३३६ को ५ रोपनी ३ आना २ पैसा क्षेत्रफल जग्गामा केही व्यक्तिले न्यूनतम भाडामा प्रयोग गरिरहेको समन्वय समितिले जनाएको छ।
यसैगरी, व्यास नगरपालिका–३ स्थित कित्ता नम्बर १६३७ को ४ रोपनी १४ आना ३ पैसा ३ दाम क्षेत्रफल जग्गा तनहुँ उद्योग वाणिज्य संघ, नारी शिल्पकला भवन र भिमसेन गुठीले भोगचलन गर्दै आएका छन्।
व्यास नगरपालिका–२ स्थित कित्ता नम्बर १६३७ कै ६ रोपनी १३ आना २ पैसा ३ दाम क्षेत्रफल जग्गा समन्वय समितिले भाडामा लगाएको छ, जहाँ ट्रेङ सेन्टर निर्माण गरिएको छ।
त्यस्तै पशुसेवा कार्यालयदेखि उत्तर दूधडेरीभन्दा पूर्व तर्फ ७आना दुई पैसा एक दाम, जिल्ला प्रहरी कार्यालयबाट पशुसेवा कार्यालय जाने बाटोको पश्चिम तथा नेपाली काङ्ग्रेसको पार्टी कार्यालयबाट पश्चिमतर्फ ९ आना तीन पैसा तीन दाम जग्गा समन्वय समितिको स्वामित्वमा छ । जिल्ला प्रहरी कार्यालयबाट पशु सेवा कार्यालय आउने बाटोको पश्चिमतर्फको भतेरी तथा भतेरीका कान्लामा कि.नं २१५ मा एक रोपनी ९ आना दुई पैसा दुई दाम, कि.नं २०० मा एक रोपनी १० आना दुई पैसा दुई दाम, कि.नं २०६ मा २४ रोपनी छ आना, कि.नं १९७ मा ११ आना एक पैसा एक दाम, कि.नं २०८ मा ५ आना तीन दाम र कि.नं २०९ मा ८ रोपनी १२ आना तीन पैसा जग्गा रहेको समन्वय समितिले जनाएको छ ।समन्वय श्राेतका अनुसार अधिकांश जग्गा अनाधिकृत रूपमा प्रयोग भइरहेको छ र त्यसको संरक्षण र व्यवस्थापनका लागि पहल थालिएको बताइएकाे छ।

यसअघि विसं २०७५ असार १९ गते पुष्पलाल श्रेष्ठको संयोजकत्वमा गठित कार्यदलले पनि समितिको जग्गाको खोजी तथा विवरण संकलन गरेको थियो।
अतिक्रमणमा परेको सार्वजनिक सम्पत्तिको संरक्षण, व्यवस्थापन तथा आम्दानी पारदर्शी बनाउने विषयमा नयाँ सरकारले चासो बढाएको छ । रास्वपा व्यास नगर सभापति चुडामणि दाहालले सरकारि सम्पत्ति जाेगाउन नयाँ सरकारकाे चासो बढ्नु स्वाभाविक भएको बताए । दाहालले समन्वयको केही जग्गामा बिचाैलियाकाे रजाइँ भएको भन्ने सम्बन्धमा सत्यता पत्ता लगाइने जानकारी दिए । नयाँ सरकारले देशैभरी सरकारी सम्पत्तिको संरक्षण गर्न लागिरहेको बेला तनहुँमा पनि चासो बढाएको हाे ।


























