नेपाल आदिवासी जनजाति महासंघ व्यास नगरको अध्यक्षमा मल्ल निर्वाचित
दमौली, तनहुँ
नेपाल आदिवासी जनजाति महासंघ (नेफिन), व्यास नगर समन्वय परिषद, दमौलीको चौथो अधिवेशनबाट ईम कुमार मल्लको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको छ।
बुधबार सम्पन्न अधिवेशनले मल्लको नेतृत्वमा सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन गरेको हो। समितिको उपाध्यक्षमा बेल बहादुर दरै, सचिवमा डिल बहादुर आले, कोषाध्यक्षमा श्रवण गुरुङ र सह-सचिवमा निर्मला तामाङ निर्वाचित हुनुभएको छ।
यस्तै, सदस्यहरूमा होम बहादुर बोटे, खिल बहादुर घर्ती, विष्णु माया गुरुङ, रस्मीला पिया, इन्द्र माया दुरा, तारा माझी, बिजेन्द्र राई र बसन्ती कुमाल रहनुभएको छ।
नयाँ कार्यसमिति चयनका लागि ले. देब बहादुर गुरुङको संयोजकत्वमा ठाकुर बहादुर दरै र पुर्ण बहादुर थापा सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो।
यसअघि, चौथो अधिवेशनको उद्घाटन सत्र नगर परिषद्का अध्यक्ष क्य. सोम बहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ तनहुँ जिल्ला समन्वय परिषदका अध्यक्ष सोनाम तामाङ प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रमको सञ्चालन सचिव अमर थापाले गर्नुभएको थियो।

नवनिर्वाचित अध्यक्ष मल्लले आदिवासी जनजातिको हक, हित र पहिचानका लागि नगरपालिका भित्रका सबै जातिहरूलाई समेटेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।


























