दमौलीकाे टाइगर ल्याण्ड महोत्सवमा सम्झना लामिछानेको धमाकेदार प्रस्तुति

दमौली, तनहुँ — दमौलीमा जारी “प्रथम टाइगर ल्याण्ड नयाँ वर्ष महोत्सव” अन्तर्गत आइतबार आयोजित सांगीतिक कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
व्यास नगरपालिका–४ सिमलटार–बागभञ्ज्याङ क्षेत्रमा सम्पन्न कार्यक्रममा चर्चित गायिका सम्झना लामिछानेले धमाकेदार प्रस्तुति दिँदै दर्शकलाई भरपूर मनोरञ्जन प्रदान गरिन्। उनका लोकप्रिय गीतहरूमा दर्शकहरू झुमेका थिए भने कार्यक्रमस्थलमा उत्साहजनक माहोल देखिएको थियो।
सम्झना लामिछानेसँगै विष्णु पराजुली, आशा दरै लगायतका कलाकारहरूको प्रस्तुति पनि महाेत्सवकाे आकर्षणको केन्द्र बनेको थियो। क्लवका अध्यक्ष विवेक घलेका अनुसार दिनभर नै दर्शकको उल्लेख्य उपस्थिति रहेको र साँझतिर भीड अझै बढ्दै गएको थियो।
कार्यक्रमलाई व्यवस्थित र प्रभावकारी बनाउन विभिन्न क्षेत्रका व्यक्तित्वहरूको सहभागिता रहेको अध्यक्ष घलेले जानकारी दिए।
टाइगर ल्याण्ड युवा क्लवको आयोजनामा सञ्चालन भइरहेको महोत्सव बैशाख ८ गतेसम्म जारी रहनेछ। महोत्सवमा बालउद्यान, रोटेपिङ, डुंगा (नाउ) तथा ड्रागन खेल जस्ता मनोरञ्जनात्मक गतिविधिहरूका साथै सस्तो बजार सञ्चालनमा रहेको छ।

महोत्सवले स्थानीय कला, संस्कृति तथा उत्पादनको प्रवर्द्धन गर्दै आन्तरिक पर्यटन र स्थानीय व्यापार व्यवसायमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।


























