म्याग्देमा स्थानीय उत्पादन प्रवर्द्धन मेला उत्साहका साथ सम्पन्न हुँदै

म्याग्दे, ४ जेठ । म्याग्दे गाउँपालिकामा सञ्चालन भइरहेको स्थानीय उत्पादन प्रवर्द्धन तथा उद्यम प्रवर्द्धन मेला दोस्रो दिन म्याग्दे–२ जामुनेमा उत्साहपूर्ण सहभागितासहित सम्पन्न भएको छ ।


तनहुँको म्याग्दे गाउँपालिका–१ गुणादीमा जेठ १ गतेदेखि सुरु भएको मेला गाउँपालिकाका विभिन्न वडामा चरणबद्ध रूपमा सञ्चालन भइरहेको छ । सोही क्रममा सोमबार म्याग्दे–२ जामुनेमा मेला आयोजना गरिएको हो भने मंगलबार म्याग्दे–३ धयेरेमा कार्यक्रम हुने जनाइएको छ ।
वृद्धिमुखी उद्यमशीलता तथा रोजगारी प्रवर्द्धन (GEEP) कार्यक्रम अन्तर्गत दायित्व संस्थाको सहकार्यमा आयोजित “म्याग्दे उद्यम प्रवर्द्धन मेला” मा स्थानीय कृषक, उद्यमी तथा समूहहरूले उत्पादन गरेका वस्तुहरूको प्रदर्शनी गरिएको छ ।
उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेश पोखरा, गाउँपालिका तथा दायित्व संस्थाको सहकार्यमा आयोजित मेलामा स्थानीय कृषकहरूले उत्पादन गरेका तरकारी, फलफूल, लोकल कुखुरा, केराउ, रैथाने बाली, खुवा, गुदपाक, बोका–खसी लगायतका सामग्रीहरू प्रदर्शन तथा बिक्रीका लागि राखिएका थिए । साथै, महिलाले सिपमूलक तालिममार्फत तयार गरेका हस्तकला तथा सजावट सामग्रीहरूले पनि मेलामा विशेष आकर्षण थपेका थिए ।
गाउँपालिकाभित्र सञ्चालनमा रहेका होमस्टेहरूले आफ्नै उत्पादनका अर्गानिक परिकार, अचार, स्थानीय खाद्यान्न तथा घरेलु सामग्रीको प्रदर्शनी तथा बिक्री वितरण गरेका थिए । मेलामा अवलोकनकर्ताको उल्लेख्य सहभागिता रहेको आयोजकले जनाएको छ ।
कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले स्थानीय उत्पादनलाई बजारसँग जोड्न सके ग्रामीण अर्थतन्त्र सुदृढ हुने बताए । उनले कृषक तथा उद्यमीलाई उत्पादनसँगै बजारीकरणमा सक्रिय हुन आग्रह गरे ।
उपाध्यक्ष बालकृष्ण घिमिरेले महिला उद्यमशीलता, कृषि उत्पादन तथा घरेलु उद्योग प्रवर्द्धनलाई गाउँपालिकाले प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गरिरहेको बताए ।
गाउँपालिकाका आर्थिक विकास शाखा प्रमुख प्रदीप न्यौपानेका अनुसार स्थानीय उत्पादनलाई बजारीकरण गर्दै कृषक तथा महिलालाई आयआर्जनसँग जोड्ने उद्देश्यले मेला आयोजना गरिएको हो । मेड्पा कार्यक्रम अन्तर्गत वडा नं. १ मा सीप सिकेका महिलाले आफ्ना उत्पादन प्रदर्शन तथा बिक्रीसमेत गरेका छन् ।

मेलाले स्थानीय उत्पादनको प्रवर्द्धन, उद्यमशीलताको विकास तथा ग्रामीण अर्थतन्त्रलाई चलायमान बनाउन महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद अधिकारीले बताए ।

























