डुम्रेमा महिला उद्यमीका लागि ५ दिने भाषणकला तालिम सुरु

डुम्रेमा महिला उद्यमीका लागि ५ दिने भाषणकला तालिम सुरु


डुम्रे, तनहुँ । महिला उद्यमी तथा व्यवसायीहरूको नेतृत्व क्षमता, आत्मविश्वास र सार्वजनिक बोलाइ सीप अभिवृद्धि गर्ने उद्देश्यले तनहुँ उद्योग वाणिज्य संघ महिला उद्यमी विकास समितिको आयोजनामा डुम्रेमा ५ दिने भाषणकला तालिम सुरु भएको छ।
समितिकी सभापति सङ्गीता प्रधानको सभापतित्वमा सम्पन्न उद्घाटन कार्यक्रममा बन्दीपुर गाउँपालिकाकी उपाध्यक्ष पञ्चमाया गुरुङ प्रमुख अतिथि रहनुभएको थियो।
कार्यक्रममा तनहुँ उद्योग बाणिज्य संघका अध्यक्ष इमकुमार मल्ल, प्रमुख प्रशासकिय अधिकृत कमलबहादुर केसी,वडा अध्यक्ष शिवकुमार श्रेष्ठ, दीपककुमार श्रेष्ठ तथा रिता तिवारी विशेष अतिथिका रूपमा सहभागी हुनुभएको थियो।
उद्घाटन समारोहमा वक्ताहरूले महिलाको आर्थिक, सामाजिक तथा व्यावसायिक सशक्तीकरणका लागि प्रभावकारी सञ्चार सीप अत्यन्त आवश्यक रहेको उल्लेख गर्दै यस्ता तालिमले महिलाहरूलाई आफ्नो विचार स्पष्ट रूपमा प्रस्तुत गर्न, नेतृत्वदायी भूमिका निर्वाह गर्न तथा व्यवसाय प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।
तालिममा भाषणकला, प्रस्तुतीकरण शैली, आत्मविश्वास अभिवृद्धि, नेतृत्व विकास, सञ्चार सीप तथा सार्वजनिक कार्यक्रममा प्रभावकारी ढंगले बोल्ने तरिकाबारे प्रशिक्षण प्रदान गरिने आयोजकले जनाएको छ।
महिला उद्यमी विकास समितिकी सभापति सङ्गीता प्रधानका अनुसार महिला उद्यमीहरूको क्षमता विकास गरी समाजमा सक्षम, आत्मनिर्भर र नेतृत्वदायी महिलाको भूमिका विस्तार गर्ने उद्देश्यले तालिम आयोजना गरिएको हो।

तालिममा काठमाडौंबाट आउनुभएका प्रशिक्षक शालिकराम डंगोल र सह–प्रशिक्षक सानु महर्जन ले सहजीकरण गरिरहनुभएको छ। महिला उद्यमीहरूको उल्लेखनीय सहभागिता रहेको तालिम आगामी पाँच दिनसम्म सञ्चालन हुनेछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page