मानसिक स्वास्थ्य प्रवर्द्धन तथा आत्महत्या रोकथाम सम्बन्धी सञ्चारकर्मी अभिमुखीकरण सम्पन्न

मानसिक स्वास्थ्य प्रवर्द्धन तथा आत्महत्या रोकथाम सम्बन्धी सञ्चारकर्मी अभिमुखीकरण सम्पन्न


दमौली, जेठ २६ — प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँको आयोजनामा दमौलीमा मानसिक स्वास्थ्य प्रवर्द्धन तथा आत्महत्या रोकथाम सम्बन्धी संवेदनशील समाचार सम्प्रेषण विषयक सञ्चारकर्मी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रम प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँका प्रमुख अमर दवाडीको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक (डीएसपी) द्वारिका प्रसाद घिमिरे, नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष डीपी अधिकारी, प्रदेश जनस्वास्थ्य अधिकृत विभुषा थापा लगायतले आ–आफ्नो भनाइ राखेका थिए।
कार्यक्रमको सुरुवातमा अधिकृत थापाले स्वागत मन्तव्यसहित कार्यक्रमको उद्देश्यबारे प्रकाश पारेकी थिइन् भने अभिमुखीकरणको सहजीकरण पुष्प खनालले गरेका थिए।
अभिमुखीकरणमा आत्महत्या तथा मानसिक स्वास्थ्य सम्बन्धी समाचार सम्प्रेषण गर्दा सञ्चारकर्मीले अपनाउनुपर्ने संवेदनशीलता, जिम्मेवार पत्रकारिताको भूमिका, मानसिक स्वास्थ्य प्रवर्द्धनका उपाय तथा आत्महत्या रोकथामका रणनीतिबारे विस्तृत छलफल गरिएको थियो। साथै नसर्ने रोग नियन्त्रण तथा जनस्वास्थ्यका विविध विषयमा समेत जानकारी प्रदान गरिएको थियो।
कार्यक्रममा जनस्वास्थ्य प्रशासक अमर दवाडीले मानसिक स्वास्थ्य प्रवर्द्धन तथा आत्महत्या रोकथाम सम्बन्धी प्रस्तुति राख्दै मानसिक स्वास्थ्यलाई सार्वजनिक स्वास्थ्यको महत्वपूर्ण पक्षका रूपमा ग्रहण गर्नुपर्ने आवश्यकता औँल्याए। उनले मानसिक स्वास्थ्यसम्बन्धी समाचार सम्प्रेषण गर्दा तथ्यपरक, संवेदनशील र जिम्मेवार ढंगले प्रस्तुत गर्न सञ्चारकर्मीहरूलाई आग्रह गरे।
त्यसैगरी, डीएसपी द्वारिका प्रसाद घिमिरेले पनि सहजीकरण गर्दै आत्महत्या सम्बन्धी घटनाको समाचार सम्प्रेषण गर्दा अपनाउनुपर्ने सावधानी, कानुनी तथा सामाजिक पक्ष, र जिम्मेवार सञ्चार अभ्यासका विषयमा जानकारी गराएका थिए।
अभिमुखीकरण कार्यक्रममा सहभागी सञ्चारकर्मीहरूले मानसिक स्वास्थ्य तथा आत्महत्या सम्बन्धी विषयमा समाचार सम्प्रेषण गर्दा अपनाउनुपर्ने अन्तर्राष्ट्रिय मापदण्ड, नैतिकता र सावधानीबारे जानकारी प्राप्त गरेका थिए।


कार्यक्रमले मानसिक स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धि गर्न तथा आत्महत्या रोकथाममा सञ्चार क्षेत्रको भूमिकालाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page