भादगाउँ खानेपानीको चुनावमा प्रशासनको हस्तक्षेप, अध्यक्षमा तामाङ–गोशली प्रतिस्पर्धामा

भादगाउँ खानेपानीको चुनावमा प्रशासनको हस्तक्षेप, अध्यक्षमा तामाङ–गोशली प्रतिस्पर्धामा

व्यास–१ स्थित भादगाउँ खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको आठौँ अधिवेशन निर्वाचनको सम्पूर्ण तयारी पूरा भइसकेको अवस्थामा जिल्ला प्रशासन कार्यालय तनहुँको पत्रपछि अन्योलमा परेको छ।
निर्वाचन समितिले मतदाता नामावली प्रकाशन, दाबी–विरोध तथा अन्तिम नामावली प्रकाशनको प्रक्रिया सम्पन्न गरी निर्वाचन कार्यतालिका सार्वजनिक गरिसकेको थियो। समितिका अनुसार मतदाता नामावलीमा कुनै दाबी–विरोध वा विवाद परेको थिएन। कुल ३०२ मतदातामध्ये २६० साधारण, २२ संस्थागत प्रतिनिधि र २० कार्यसमिति सदस्य रहेका छन्।
निर्वाचनमा अध्यक्ष पदका लागि सन्त तामाङ र राम गोशली प्रतिस्पर्धामा छन्। उपाध्यक्षमा राजेश्वर हडखले, सचिवमा विष्णुबहादुर बस्नेत, सहसचिवमा शान्तमाया खवास तथा अन्य २७ जना सदस्य पदका उम्मेदवार छन्।
निर्वाचन समितिले असार १२ गते उम्मेदवारी दर्ता तथा असार १३ गते मतदान गर्ने कार्यतालिका सार्वजनिक गरिसकेको अवस्थामा केही पक्षले जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका थिए। त्यसपछि जिल्ला प्रशासन कार्यालयले विधानबमोजिम आवश्यक समन्वय र विवाद समाधान गरेर मात्र अधिवेशन अगाडि बढाउन पत्राचार गरेपछि निर्वाचन प्रक्रिया अन्योलमा परेको हो।
निर्वाचनसँग सम्बन्धित स्रोतहरूले मतदाता नामावलीमा कुनै विवाद नभएको अवस्थामा समेत अधिवेशन रोक्न राजनीतिक चलखेल भएको आरोप लगाएका छन्। उनीहरूका अनुसार अधिकांश उम्मेदवार नेपाली कांग्रेस निकट भएकाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निकट पक्षले प्रशासनमा निवेदन दिएर अधिवेशन रोक्न खोजेको दाबी गरिएको छ। यद्यपि, यस विषयमा रास्वपाको आधिकारिक प्रतिक्रिया भने सार्वजनिक भएको छैन।


प्रशासनको पत्रपछि निर्वाचन समितिले सार्वजनिक गरेको कार्यतालिका तत्काल कार्यान्वयन हुने वा नहुने अन्योलमा परेको छ भने उपभोक्ताहरूले अधिवेशन यथाशीघ्र सम्पन्न गराउन माग गरेका छन्।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page