पृथ्वी राजमार्गका होटलहरूको स्तरीकरण: १८ मध्ये १३ होटल ग्रेडिङमा सफल, सिद्धार्थ होटललाई थ्री स्टार

पृथ्वी राजमार्गका होटलहरूको स्तरीकरण: १८ मध्ये १३ होटल ग्रेडिङमा सफल, सिद्धार्थ होटललाई थ्री स्टार


दमौली, असार १४ — पृथ्वी राजमार्गअन्तर्गत तनहुँका होटल तथा रेष्टुरेन्टहरूको सेवा, सरसफाइ, खाद्य सुरक्षा, भान्सा व्यवस्थापन तथा समग्र सञ्चालनको स्तर मूल्याङ्कन गर्न आइतबार संयुक्त अनुगमन तथा स्तरीकरण गरिएको छ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तनहुँ, व्यास नगरपालिका, जिल्ला प्रशासन कार्यालय, तनहुँ लगायतका निकायको संयुक्त टोलीले पृथ्वी राजमार्ग आसपासका १८ होटल तथा रेष्टुरेन्टको अनुगमन गरेको हो।
अनुगमनका क्रममा १८ मध्ये १३ होटल तथा रेष्टुरेन्ट स्तरीकरणमा सफल भएका छन्। तीमध्ये ४ वटाले ग्रेड ‘डी’ (सामान्य) प्राप्त गर्दै पहेँलो स्टिकर पाएका छन् भने ८ वटाले ग्रेड ‘सी’ (हरियो स्टिकरसहित १ तारा–मध्यम) प्राप्त गरेका छन्।
त्यसैगरी, व्यास–२ स्थित होटल सिद्धार्थ (एपेक्स हस्पिटालिटी) ले ‘अति उत्तम’ (३ स्टार) श्रेणी प्राप्त गर्दै हरियो स्टिकरसहित थ्री स्टार लोगो हासिल गरेको छ। यो उपलब्धिसँगै उक्त होटल तनहुँमा स्तरीकरणमार्फत थ्री स्टार मान्यता प्राप्त गर्ने पहिलो होटल बनेको छ।
ग्रेड ‘डी’ (सामान्य) प्राप्त गर्नेमा ग्रिन हिल रेष्टुरेन्ट (व्यास–५), होटल ड्रागन (व्यास–५), कन्टेनर कफी हब प्रालि (व्यास–१२) र रइस क्याफे एण्ड रेष्ट्रो (व्यास–१२) रहेका छन्।
हरियो स्टिकरसहित १ तारा (ग्रेड ‘सी’) प्राप्त गर्नेमा मानुङकोट रिसोर्ट प्रालि, दुना टपरी रेष्टुरेन्ट, हाइवे ब्रेक ईभी पोइन्ट प्रालि, कैनी भिला क्याफे एण्ड रेष्टुरेन्ट, होटल हाइवे किङ, बबिना होटल एण्ड रेष्टुरेन्ट, ए वान क्याफे एण्ड रेष्ट्रो तथा पिस प्याराडाइज रिसोर्ट रहेका छन्।
अनुगमन टोलीमा व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने, उपप्रमुख इन्दिरा दरै, प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्साल, खाद्य डिभिजन कार्यालय तनहुँका प्रमुख ज्योति आचार्य, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय पोखराका अशोक गौतम, होटल व्यवसायी संघका दुर्गा बिलास भट्टराई, क्षेत्रीय होटल संघका सीता पहारी, सुरक्षाकर्मी, नगर प्रहरी तथा सञ्चारकर्मीको सहभागिता रहेको थियो।

अनुगमन टोलीले होटल तथा रेष्टुरेन्टलाई खाद्य स्वच्छता, सरसफाइ, सुरक्षित भान्सा सञ्चालन, सेवा गुणस्तर तथा उपभोक्तामैत्री व्यवस्थापनलाई निरन्तर सुधार गर्दै निर्धारित मापदण्ड पालना गर्न आग्रह गरेको छ। स्तरीकरण अभियानले राजमार्गका होटलहरूको सेवा गुणस्तर सुधार, सुरक्षित खाद्य प्रवर्द्धन तथा उपभोक्ताको विश्वास अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page