व्यास नगर समता बिद्यालयका अभिभावकविहीन तथा विपन्न विद्यार्थीलाई ट्र्याकसुट र मोजा वितरण
तनहुँ, असार १९ – व्यास नगर समता विद्यालयमा अध्ययनरत अभिभावकविहीन, एकल अभिभावक भएका तथा आर्थिक रूपमा विपन्न विद्यार्थीहरूलाई ट्र्याकसुट (पोशाक) र मोजा वितरण गरिएको छ।
हाल उच्च अध्ययनका लागि बेलायत (UK) मा रहनुभएका व्यास–१४ निवासी सञ्जु सुनारको नेतृत्व तथा उहाँ र उहाँका साथीहरूको आर्थिक सहयोगमा आयोजित कार्यक्रम व्यास नगरपालिकाका नगरप्रमुख वैकुण्ठ न्यौपानेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।
यस मानवीय अभियानमा सञ्जु सुनारसँगै पर्वतका माधव पौडेल, रुपन्देहीका सरोज गैरे, देवराज यादव, मनीष पाण्डेय, बिदुर राना, काठमाडौंका कपिल कार्की तथा धादिङका किसान श्रेष्ठ लगायतको आर्थिक सहयोग रहेको विद्यालयले जनाएको छ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सतीशचन्द्र न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक, शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

विद्यालय परिवारले विद्यार्थीहरूको शैक्षिक यात्रामा सहयोग पुर्याउने यस मानवीय तथा अनुकरणीय कार्यका लागि सञ्जु सुनार तथा सम्पूर्ण सहयोगीहरूलाई हार्दिक धन्यवाद, आभार र कृतज्ञता व्यक्त गरेको छ।


























