६८ करोड कप भलिबल : उपाधिका लागि शाही फलफूल र हाई भिजन ल्याण्ड फाइनलमा भिड्ने
भिमाद (तनहुँ), असार १८ – भिमादमा जारी ६८ करोड कप–२०८३ क्लबस्तरीय पुरुष भलिबल प्रतियोगिताको दोस्रो सेमिफाइनलमा हाई भिजन ल्याण्ड विजयी हुँदै फाइनलमा प्रवेश गरेको छ।
शनिबार सम्पन्न प्रतिस्पर्धात्मक खेलमा हाई भिजन ल्याण्डले स्याङ्जा भलिबल टिमलाई ३–२ सेटले पराजित गर्दै उपाधिनजिक पुगेको हो। पाँच सेटसम्म चलेको रोमाञ्चक प्रतिस्पर्धामा निर्णायक सेट आफ्नो पक्षमा पार्दै हाई भिजन ल्याण्डले फाइनल यात्रा तय गरेको हो।
यसअघि पहिलो सेमिफाइनलमा शाही फलफूल, स्याङ्जा विजयी हुँदै फाइनलमा स्थान सुरक्षित गरिसकेको थियो। अब उपाधिका लागि हाई भिजन ल्याण्ड र शाही फलफूल, स्याङ्जाबीच प्रतिस्पर्धा हुनेछ। तेस्रो स्थानका लागि भने स्याङ्जा भलिबल टिम र आयोजक पिरुङ्ग स्पोर्ट्स क्लब, भिमादबीच खेल हुनेछ।
पिरुङ्ग स्पोर्ट्स क्लबको आयोजना तथा टिम ६८ करोडको सहआयोजनामा सञ्चालन भइरहेको प्रतियोगिताको विजेताले रु. १ लाख ११ हजार ६८, उपविजेताले रु. ७७ हजार ६८, तृतीयले रु. ४४ हजार ६८ र चौथो हुने टोलीले रु. २२ हजार ६८ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।

यस्तै, सर्वोत्कृष्ट खेलाडीलाई रु. ५ हजार ६८ तथा उत्कृष्ट ब्लकर, स्पाइकर, सेटर, उदियमान खेलाडी र उत्कृष्ट प्रशिक्षकलाई जनही रु. ३ हजार ६८ नगदसहित सम्मान गरिने आयोजकले जनाएको छ।
प्रतियोगिताको अवधिभर राष्ट्रिय तथा स्थानीय कलाकारहरूको सांगीतिक प्रस्तुति समेत रहने व्यवस्था गरिएको आयोजकले जनाएको छ।


























