महिलाको आत्मनिर्भरताका लागि म्याग्दे–५ मा सुगन्धित धुपबाट बत्ती बनाउने तालिम सम्पन्न
तनहुँ, २३ असार
महिलाको आर्थिक सशक्तीकरण, स्वरोजगार सिर्जना तथा स्थानीय स्रोत–साधनमा आधारित उद्यम विकास गर्ने उद्देश्यले म्याग्दे गाउँपालिकाले वडा नं. ५ मा सञ्चालन गरेको तीनदिने सुगन्धित धुपबाट बत्ती बनाउने सीपमूलक तालिम सम्पन्न भएको छ। गाउँपालिकाको आर्थिक विकास शाखाको आयोजनामा सम्पन्न तालिममा वडा नं. ५ का ३३ जना महिलाको सक्रिय सहभागिता रहेको थियो।
तालिमको उद्देश्य स्थानीय स्तरमै उपलब्ध कच्चा पदार्थको उपयोग गरी गुणस्तरीय सुगन्धित धुप उत्पादन, न्यून लगानीमा घरमै बसेर व्यवसाय सञ्चालन तथा महिलालाई आयआर्जनसँग जोड्नु रहेको आर्थिक विकास शाखा प्रमुख प्रदीप न्यौपानेले जानकारी दिनुभयो। पछिल्लो समय धार्मिक तथा सांस्कृतिक गतिविधिमा धुपको प्रयोग बढ्दै गएको र बजारमा यसको माग निरन्तर विस्तार भइरहेकाले यस क्षेत्रमा उद्यमको राम्रो सम्भावना रहेको उहाँले बताउनुभयो।
तीन दिनसम्म सञ्चालन भएको तालिममा प्रमुख प्रशिक्षक पवित्रा लामिछानेले कच्चा पदार्थ छनोट, मिश्रण तयार गर्ने विधि, बत्ती बनाउने प्रक्रिया, सुकाउने तरिका, गुणस्तर परीक्षण, सुरक्षित भण्डारण, आकर्षक प्याकेजिङ, लेबलिङ, मूल्य निर्धारण तथा बजार व्यवस्थापनलगायतका विषयमा व्यवहारिक प्रशिक्षण दिनुभएको थियो। सहभागी महिलाले स्वयं धुपका बत्ती तयार गरी व्यावहारिक अभ्याससमेत गरेका थिए। सहायक प्रशिक्षक राममाया श्रेष्ठले उत्पादन प्रक्रियाको प्रत्येक चरणमा आवश्यक सहजीकरण गर्नुभएको थियो।
तालिम समापन कार्यक्रममा गाउँपालिका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले महिलाको आर्थिक सशक्तीकरण गाउँपालिकाको प्रमुख प्राथमिकतामध्ये एक रहेको बताउँदै सिकेको सीपलाई व्यवसायमा रूपान्तरण गर्न आग्रह गर्नुभयो। उहाँले तालिमलाई केवल प्रमाणपत्र प्राप्त गर्ने कार्यक्रमका रूपमा नभई उत्पादन, रोजगारी सिर्जना र स्थानीय अर्थतन्त्र सुदृढ गर्ने माध्यमका रूपमा उपयोग गर्नुपर्नेमा जोड दिनुभयो। उद्यमशील महिलालाई आवश्यक प्राविधिक सहयोग, सहजीकरण तथा सम्भव भएसम्म बजार व्यवस्थापनमा पनि गाउँपालिकाले साथ दिने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो।
गाउँपालिका उपाध्यक्ष बालकृष्ण घिमिरेले महिलामा रहेको क्षमता, सिर्जनशीलता र परिश्रमलाई उत्पादनसँग जोड्न सके गाउँपालिकाको आर्थिक विकासमा महत्वपूर्ण योगदान पुग्ने बताउनुभयो। उहाँले स्थानीय उत्पादनलाई प्रतिस्पर्धी बनाउन गुणस्तर, आकर्षक प्याकेजिङ र प्रभावकारी बजार व्यवस्थापनमा विशेष ध्यान दिनुपर्ने धारणा राख्नुभयो।
प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद अधिकारीले तालिमको वास्तविक उपलब्धि सहभागी महिलाले व्यवसाय सञ्चालन गरेपछि मात्र देखिने उल्लेख गर्दै समूह निर्माणमार्फत सामूहिक उद्यम सञ्चालन गर्न सके उत्पादन लागत घट्ने, बजार विस्तार सहज हुने र दीर्घकालीन सफलता हासिल गर्न सकिने बताउनुभयो। स्थानीय उत्पादनलाई गाउँपालिकाको पहिचानसँग जोड्न प्रशासनिक तथा संस्थागत सहयोग उपलब्ध गराइने उहाँको भनाइ थियो।
कार्यक्रमबारे जानकारी दिँदै आर्थिक विकास शाखा प्रमुख प्रदीप न्यौपानेले गाउँपालिकाले स्थानीय आवश्यकता र महिलाको मागका आधारमा सीपमूलक तालिम सञ्चालन गर्दै आएको बताउनुभयो। तालिमपछि सहभागीलाई उद्यमसँग जोड्ने, आवश्यक परामर्श दिने, समूह गठनमा सहजीकरण गर्ने तथा बजारसँग जोड्ने प्रयाससमेत भइरहेको उहाँले जानकारी दिनुभयो।
कार्यक्रमका सभापति तथा वडा नं. ५ का वडा अध्यक्ष शिवबहादुर आलेले वडा नं. ५ लाई सुगन्धित धुप उत्पादनको ‘पकेट क्षेत्र’का रूपमा विकास गर्ने लक्ष्य रहेको घोषणा गर्नुभयो। स्थानीय ब्रान्डका रूपमा धुप उत्पादनलाई स्थापित गर्दै बजारसम्म पुर्याउन गाउँपालिका तथा सम्बन्धित निकायसँग समन्वय गरिने उहाँले बताउनुभयो। महिलाले सामूहिक उत्पादन समूह गठन गरी निरन्तर उत्पादन गर्न सके धेरै परिवारको आर्थिक अवस्था सुधार्न सकिने विश्वास उहाँले व्यक्त गर्नुभयो।
तालिममा सहभागी शारदा उपरकोटीले कार्यक्रमबाट नयाँ सीप सिक्ने अवसर प्राप्त भएको बताउँदै घरायसी कामसँगै अतिरिक्त समयको सदुपयोग गरी धुप उत्पादन व्यवसाय सञ्चालन गर्न सकिने विश्वास व्यक्त गर्नुभयो। सहभागी महिलाहरूले सामूहिक रूपमा उत्पादन सुरु गरी गाउँपालिकाको सहयोगमा बजार विस्तार गर्ने योजना रहेको बताएका छन्।

तालिम समापनसँगै सहभागी महिलाहरूले स्थानीय स्रोत–साधनमा आधारित उद्यममार्फत आत्मनिर्भर बन्ने प्रतिबद्धता व्यक्त गरेका छन्। गाउँपालिकाले यस्ता सीपमूलक कार्यक्रमलाई निरन्तरता दिँदै महिलाको आर्थिक सशक्तीकरण, स्वरोजगार प्रवर्द्धन र स्थानीय उत्पादनको व्यावसायिक विकासमा जोड दिने जनाएको छ।


























