तनहुँलाई पेनाल्टीमा पराजित गर्दै प्रदेशस्तरीय फुटबलकाे उपाधि कास्कीलाइ
पाेखरामा जारी प्रदेशस्तरीय पुरुष फुटबल प्रतियोगिताको उपाधि कास्कीले जितेको छ ।

पोखरा रंगशालामा साेमबार दिउँसो भएको अत्यन्तै प्रतिस्पर्धात्मक फाइनल खेलकाे निर्धारित समयमा दुबै टिमबाट कुनै गाेल हुन सकेको थिएन । निर्धारित समयमा गाेल हुन नसकेपछि खेल पेनाल्टीमा गएको थियो । जसमा कास्कीकाे तर्फबाट हानेको पहिलो पेनाल्टी बारमा लागेर फर्कँदा तनहुँले अग्रता लियो ।


तर तनहुँकाे पनि तेस्रो पेनाल्टी पाेलमा लागेर फर्कँदा खेल ३/३ मा गयो । पुन तनहुँकाे तर्फबाट प्रहार बललाई कास्कीका गाेलरक्षकले समाउँदा अग्रता लिएको तनहुँ पछाडि पर्याे र उपाधि कास्कीले चुम्याे । तनहुँका दुई खेलाडी पेनाल्टीमा चुक्दा कास्कीलाई आफ्नै घरमा हारकाे स्वाद चखाउने तनहुँकाे अवसर खेर गयो र तनहुँ उपविजेतामा चित्त बुझाउँदै घर फर्कियाे ।

प्रतियोगितामा उपाधि विजेता कास्कीले नगद दुई लाख र उपविजेता तनहुँले एक लाख नगद पुरस्कारका साथमा ट्रफी र मेडल प्राप्त गरे । यस प्रतियोगिताबाट दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि खेलाडी छनोट हुने बताइएको छ ।

यस अघि तनहुँले बागलुङलाई २-१ गोलले तथा कास्कीले म्याग्दीलाई ४-१ गोलले पराजित गरी फाइनलकाे यात्रा तय गरेका थिए ।



























