भिमादमा जारी ६८ करोड कप भलिबल प्रतियोगिता : दोस्रो दिन स्याङ्जाको पहिलो जित

भिमादमा जारी ६८ करोड कप भलिबल प्रतियोगिता : दोस्रो दिन स्याङ्जाको पहिलो जित


भिमाद, तनहुँ, असार १८। पिरुङ्ग स्पोर्ट्स क्लबको आयोजना तथा टिम ६८ करोडको सहआयोजनामा भिमाद बजारमा सञ्चालन भइरहेको ६८ करोड कप–२०८३ क्लबस्तरीय पुरुष भलिबल प्रतियोगिता दोस्रो दिन पनि रोमाञ्चक प्रतिस्पर्धासहित जारी रहेको छ।
चार दिनसम्म सञ्चालन हुने प्रतियोगिताको उद्घाटन हरिनास गाउँपालिकाका अध्यक्ष खिम नारायण मानन्धरले गर्नुभएको थियो। उद्घाटनका अवसरमा उहाँले खेलकुदले युवामा अनुशासन, नेतृत्व क्षमता र सामाजिक एकताको भावना विकास गर्ने बताउँदै यस्ता प्रतियोगिताले स्थानीय खेलकुदको विकास र प्रतिभावान खेलाडी उत्पादनमा महत्वपूर्ण योगदान पुग्ने धारणा व्यक्त गर्नुभयो।
प्रतियोगितामा तनहुँ भलिबल, स्याङ्जा भलिबल, शाही फलफूल स्याङ्जा, पिरुङ्ग स्पोर्ट्स क्लब भिमाद, वालिङ भलिबल क्लब र हाई भिजन ल्याण्ड लगायतका टोलीको सहभागिता रहेको छ। प्रतियोगिता लिग कप नकआउट प्रणालीमा सञ्चालन भइरहेको छ।
पहिलो दिन सम्पन्न तीन खेलमध्ये शाही फलफूल स्याङ्जाले तनहुँ भलिबललाई पराजित गर्दै विजयी सुरुआत गरेको थियो। उद्घाटन खेलमा आयोजक पिरुङ्ग स्पोर्ट्स क्लबले स्याङ्जा भलिबललाई हराएको थियो भने अन्तिम खेलमा हाई भिजन ल्याण्डले तनहुँ भलिबललाई पराजित गर्दै तनहुँलाई लगातार दोस्रो हार चखाएको थियो।
दोस्रो दिनको पहिलो खेलमा स्याङ्जा भलिबलले वालिङ भलिबल क्लबलाई पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ। यससँगै प्रतियोगिता थप प्रतिस्पर्धात्मक बनेको छ भने बाँकी खेलहरू जारी रहेका छन्।
प्रतियोगिताको विजेताले रु. १ लाख ११ हजार ६८, उपविजेताले रु. ७७ हजार ६८, तृतीय हुने टोलीले रु. ४४ हजार ६८ तथा सान्त्वना हुने टोलीले रु. २२ हजार ६८ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। त्यसैगरी सर्वोत्कृष्ट खेलाडीलाई रु. ५ हजार ६८ तथा उत्कृष्ट ब्लकर, स्पाइकर, सेटर, उदियमान खेलाडी र उत्कृष्ट प्रशिक्षकलाई जनही रु. ३ हजार ६८ नगदसहित सम्मान गरिने आयोजकले जनाएको छ।


प्रतियोगिताको अवधिभर राष्ट्रिय तथा स्थानीय कलाकारहरूको सांगीतिक प्रस्तुति समेत रहनेछ। गण्डकी प्रदेशका चर्चित सेटर तथा पिरुङ्ग स्पोर्ट्स क्लबका अध्यक्ष विवश आलेको उपनामबाट प्रतियोगिताको नाम ‘६८ करोड कप’ राखिएको आयोजकले जनाएको छ। प्रतियोगितामार्फत भलिबल खेलको विकास, स्थानीय खेलाडीको क्षमता अभिवृद्धि तथा भिमाद क्षेत्रमा खेल पर्यटन प्रवर्द्धन गर्ने लक्ष्य राखिएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page