माध्यमिक तहका प्रधानाध्यापक सँगकाे शैक्षिक अन्तरक्रिया कार्यक्रम सम्पन्न
तनहुँकाे बन्दीपुर ५ याम्पाढाप स्थित मर्स्याङ्दी रिभरभ्यु रिसोर्टमा शैक्षिक गुणस्तर अभिवृद्धिका लागि माध्यमिक तहका प्रधानाध्यापकहरूसँगको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । शिक्षा विकास तथा समन्वय इकाई तनहुँको आयोजनामा भएको यस कार्यक्रम इकाई प्रमुख उद्धवराज कट्टेलको अध्यक्षता तथा जिल्ला समन्वय समिति तनहुँका प्रमुख श्री शान्तिरमण वाग्लेको प्रमुख आतिथ्यतामा भएको थियो ।
अन्तरक्रियामा भानु नगरपालिकाका उपसचिव एवं नगर शिक्षा अधिकारी श्री ध्रुवराज पौडेल लगायत तनहुँका पुर्वी भेगका पाँचवटा स्थानीय तह (व्यास, भानु, बन्दीपुर, आँबुखैरेनी र देवघाट) मा सञ्चालित सामुदायिक र संस्थागत माविका ८० जना प्रधानाध्यापकहरूको उपस्थिति रहेको थियो ।

यस कार्यक्रममा इकाई प्रमुख उद्धवराज कट्टेलले छलफलका लागि एजेन्डा प्रस्तुत गर्दै शैक्षिक गुणस्तर अभिवृद्धिका लागि विद्यालयले सञ्चालन गर्नुपर्ने कार्यक्रमहरू, केन्द्रका नीति नियम र परिपत्रहरू, IEMIS, कासमू फाराम, Real Plan तथा SEE परीक्षा २०८० को नतिजाको तथ्यांक प्रस्तुत गरेका थिए । त्यसैगरी उपस्थित प्रअहरूलाई १० वटा समुहमा विभाजन गरी आ-आफ्नो विद्यालयमा भए गरेका असल अभ्यासहरू (Best Practices) टिपोट गरी समूहगत रूपमा प्रस्तुतीकरण गरिएको थियो । त्यस्तै भानु नगर शिक्षा अधिकारी ध्रुवराज पौडेलले भानु नगरपालिकाले शैक्षिक उन्नयनका लागि गरेका अभ्यासहरू शेयरिङ् गरेका थिए । त्यसपछि शिविसईका शाखा अधिकृत विश्वप्रकाश रेग्मीले एस ई ई परीक्षामा विद्यार्थीले रजिष्ट्रेशन तथा परीक्षा आवेदन फाराम भर्दा हुनसक्ने त्रुटीहरू, अपनाउनु पर्ने साबधानीहरूका बारेमा जानकारी गराउँदै आगामी शैक्षिक सत्र २०८१ मा SEE को विद्यालयगत नतिजा प्रक्षेपण गरी सबै विद्यालयका प्रअहरूबाट दिइएको लक्ष्य टिपोट गरेकाे बताइएको छ । कार्यक्रममा नेपाल शिक्षक महासंघ तनहुँका अध्यक्ष रामचन्द्र पोखरेल, नेपाल राष्ट्रिय शिक्षक संगठन तनहुँका अध्यक्ष रघुनाथ पण्डित तथा एन प्याब्सनका केन्द्रीय उपाध्यक्षले पनि शुभकामना मन्तव्य राखेका थिए ।
























