कुशल प्रशासक भण्डारी अब भानु नगरपालिकामा !
कुशल प्रशासककाे छवि बनाएका प्रमुख प्रशासकिय अधिकृत गौतम भण्डारी तनहुँकाे भानु नगरपालिकामा सरूवा भएका छन् । लामो समय गाेरखाकाे पालूङटार नगरपालिकाकाे प्रमुख प्रशासकिय अधिकृतकाे रूपमा बसेका भण्डारीकाे पालुङटार बसाइ बिवादरहित त रह्यो नैं साथै उत्कृष्ट समेत रह्यो । यसको पुष्टि पालुङटारबाट फेरि भेटाैँला कार्यक्रममा पालुङटारका जनप्रतिनिधि , कर्मचारी र स्थानीयले देखाएको माया तथा अभिव्यक्तिले पनि प्रस्ट्याउँथ्याे । करिब साँढे दुई वर्ष बसेका भण्डारी आम सर्वसाधारणकाे समेत तनतनमा बस्न सफल भएका थिए । त्यसैले त त्यहाँका जनप्रतिनिधिले सकेसम्म उनलाई त्यहीँ राख्न चाहन्थे ।

पालुङटारबाट सरुवा भई आएका भण्डारीलाई भानु नगरपालिकामा बुधबार भानु नगरपालिकाका जन प्रतिनिधि र कर्मचारीद्वारा स्वागत तथा परिचयात्मक कार्यक्रम गरिएको छ |
कर्मचारीको तर्फबाट भानु नगर निमित्त प्रमुख प्रशासकिय अधिकृत धुर्वराज पौडेलले भण्डारीलाई स्वागत गरेका थिए । यस्तै भानु नगर प्रमुख आनन्द राज त्रिपाठी र उपप्रमुख उमा गाेतामेले उनलाई स्वागत गरेका थिए । उक्त अवसरमा भानु नगरपालिका काममा विश्वास एवं चुस्त दुरुस्त नागरिक सेवा प्रवाह एवं नयाँ सृजनात्मक कार्यको लागि सधैं कटिबद्ध रहेको बताउँदै जनप्रतिनिधि र कर्मचारी एक जुटका साथफरक फरक जिम्मेवारी र भूमिका निर्वाह गर्दै समुन्नत र विकसित भानुको लागी सबै लाग्नु पर्ने बताए |

उक्त अवसरमा प्रमुख प्रशासकिय अधिकृत गौतम भण्डारीले विर्के टोपीको महत्व ,भानुभक्तको ऐतिहासिक ,भावनात्मक र विर्के टोपीको मर्म आफुले महसूस गरेकाे बताए । नगरपालिकालाई चलायमान बनाउन टिमवर्क महत्वपूर्ण रहेको भण्डारीकाे भनाइ थियो |
























