प्रजातन्त्र सेनानी नगेन्द्र थापाको स्मृतिमा प्रथम गजौंडे सेभेन ए साइड फुटबल प्रतियोगिता हुने

प्रजातन्त्र सेनानी नगेन्द्र थापाको स्मृतिमा प्रथम गजौंडे सेभेन ए साइड फुटबल प्रतियोगिता हुने

प्रजातन्त्र सेनानी नगेन्द्र थापाको स्मृतिमा प्रथम गजौंडे सेभेन ए साइड फुटबल प्रतियोगिता हुने भएको छ । यही माघ १५ गतेदेखि २० गतेसम्म व्यास ९ को गजौैडेमा प्रतियोगिता गर्न लागिएको हो । व्यास ९ गजौंडे स्थित संगम युवा क्लवको आयोजनामा हुने प्रतियोगिता सम्बन्धी गजौंडेमा पत्रकार सम्मेलन गरि जानकारी गराइएको हो ।
‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रको लागि’ भन्ने नाराका साथ हुने प्रतियोगितामा प्रथम हुनेलाई नगद ५५ हजार ५ सय ५५सहित ट्रफी, मेडल र प्रमाणपत्र तथा उपबिजेतालाई नगद ३३ हजार ३ सय ३३ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजक संगम युवा क्लवका अध्यक्ष नर बहादुर गुरूङले बताए ।
गजौडेको विकास र गजौंडे क्षेत्रमा वस्ती वसाउन महत्वपूर्ण योगदान दिने प्रजातन्त्र सेनानी नगेन्द्र थापाको स्मृतिमा व्यास ९ मा गजौंडेमा आयोजना हुने सेभेन ए साइड फुटबल प्रतियोगिताको पुरस्कार राशि वडामा भएका प्रतियोगिता मध्ये अहिलेसम्मकै सबैभन्दा धेरै राशिको भएको अध्यक्ष गुरूङले जानकारी दिए । प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट गोल रक्षक र सर्बाधिक गोलकर्तालाई पनि पुरस्कृत गरिने क्लबका अध्यक्ष गुरूङले बताए ।
खेलकुदको माध्यमबाट गजौडेलाई चिनाउने समेत उद्देश्य रहेको सो प्रतियोगिता सञ्चालन गर्न करिब तीन लाख खर्च हुने आयोजकको अनुमान छ । प्रतियोगिताबाट बचत रकम क्लबको खेल गतिविधिसँगै सामाजिक कार्यमा खर्च गरिने क्लवले जनाएको छ ।

क्लवद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै व्यास ९ का वडा अध्यक्ष एवं व्यास नगरपालिकाका प्रवक्ता सुरेश थापाले क्लवले सामाजिक क्षेत्रमा गरेका कार्य प्रशंशनीय रहेको बताए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका वडा अध्यक्ष थापाले प्रतियोगिताले युवाहरूलाई शारिरीक स्वस्थताका अतिरिक्त अनुसाशित र सत्मार्गमा लाग्न प्रोत्साहित समेत गर्ने बताए । गजौडेको विकास र यहाँ वस्ती वसाउन योगदान खेल्नुहुने प्रजातन्त्र सेनानी आफ्ना स्वर्गीय बुबाको स्मृतिमा प्रथम गजौंडे सेभेन ए साइड फुटबल प्रतियोगिता आयोजना गर्न लागिएको भन्दै उनले धन्यवाद दिए । स्वास्थ्य शिविर, खेलकुद, सरसफाई लगायतको सामाजिक काम क्लवले गर्दै आएको प्रति आभार प्रकट गर्दै उनले खेलकुदले गजौडेलाई चिनाउनुको अतिरिक्त कुलत र दुव्र्यसन समेतलाई रोक्न मद्दत गर्ने धारणा व्यक्त गरे । सो प्रतियोगिताको लागि आफ्नो परिवारको तर्फबाट १ लाख १ हजार १ सय ११ रुपयाँ सहयोग गर्ने उनको प्रतिवद्धता थियो ।
क्लबका अध्यक्ष नर बहादुर गुरूङको अध्यक्षतामा आयोजित सो पत्रकार सम्मेलनमा नेपाल रेडक्रस सोसाइटी कलेस्ती उपशाखाका सभापति बाबुराम खनाल, समाजसेवी शिवशंकर पौडेल, गजौंडे टोल विकास संस्थाका अध्यक्ष शुक्रजंग अधिकारी, सुनौलो नयाँ गोरेटो कृषि सहकारी संस्थाका विष्णु अधिकारी, समाजसेवी रुप बहादुर अधिकारी, राजापानी सिद्धेश्वर महादेव मन्दिरका अध्यक्ष होम बहादुर गोदार लगायतले प्रजातन्त्र प्राप्तीको आन्दोलमा ६ वर्ष वढि जेलनेल भोगेका प्रजातन्त्र सेनानी नगेन्द्र थापाको स्मृतिमा आयोजित फुटबल प्रतियोगिताको निर्भिग्नताका साथ सफलताको शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा बक्ताहरुले प्रजातन्त्र सेनानी स्वर्गिय नगेन्द्र थापा एक हकी, हठी र दरिलो समाजसेवी भएको र उनी गर्विलो इतिहास बोकेको प्रजातान्त्रिक योद्दा रहेको चर्चा गरेका थिए ।
सो पत्रकार सम्मेलनको संचालन संगम युवा क्लवका उपाध्यक्ष धर्मराज गोदारले गरेका थिए ।
को हुन् प्रजातन्त्र सेनानी स्वर्गिय नगेन्द्र थापा ?
दमौली ।
व्यास ९ गजौंडे क्षेत्रमा वस्ती वसाउन तथा सो क्षेत्रको विकासमा उल्लेखनीय योगदान पुर्याएका प्रजातन्त्र सेनानी नगेन्द्र थापाको जन्म १९९९ साल तनहुँसुर, परेलचौरमा भएको हो ।
उनले राजाको निरङ्कुश शासन व्यवस्था विरुद्ध हतियार उठाउने आन्दोलनमा २०१८ सालमा पक्राउ परी २०२४ सालसम्म करिब ६ वर्ष सेन्टर जेलमा बन्दी जीवन बिताएका थिए । उनले कांग्रेस नेता गोवद्र्धन शर्मा, सूर्यभक्त अधिकारीहरूलाई हर तरहले सहयोग र संरक्षण गरेका थिए । भूमिगत रुपमा कैयौं दिन र रात जंगलमा बसेका योद्धा नगेन्द्र थापा बनारसमा रहेका नेताहरू र देशभित्र रहेका नेताहरूबीच चिठीपत्र, पत्रपत्रिका, खबर आदानप्रदान गर्ने, अत्यन्त चलाख, क्रान्तिकारी र उर्जाशील व्यक्तित्वको रुपमा चिनिन्थे । पञ्चायत विरुद्धको आन्दोलन, सङ्घर्ष र पार्टी संगठनमा अत्यन्त महत्वपूर्ण भूमिका निर्वाह गरेका उनी २०२८ मा गठित नेपाल तरुण दल तनहुँको उपाध्यक्ष समेत बनेका थिए । २०४८ को स्थानीय निर्वाचनमा तनहुँसुर गा.वि.स अध्यक्ष निर्वाचित थापाले पञ्चायत कालमा नेपाली कांग्रेस तनहुँसुर सभापतिका रुपमा काम गरेका थिए । प्रजातन्त्र सेनानी नगेन्द्र थापा तनहुँ कांग्रेसका निष्ठावान अविस्मरणीय नेता मानिन्छन् ।
टेक बहादुर थापाका छोरा प्रजातन्त्र सेनानी नगेन्द्रको श्रीमती मिठु थापा र छोराहरु रमेश, सुरेश र विनोद थापा तथा छोरी सम्झना थापा हुन् । माहिला छोरा सुरेश हाल व्यास ९ को वडा अध्यक्ष तथा व्यास नगरपालिकाका प्रवक्ता समेत हुन् ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page