बन्दीपुरकाे खड्गदेवी मन्दिरमा नयाँ गहना अर्पण, पुजामा भक्तजनहरूको घुइँचो

बन्दीपुरकाे खड्गदेवी मन्दिरमा नयाँ गहना अर्पण, पुजामा भक्तजनहरूको घुइँचो


तनहुँकाे बन्दीपुर स्थित खड्गदेवी मन्दिरमा आइतबार नयाँ गहना अर्पण गरिएको छ। धार्मिक विधि तथा पूजापाठका बीच सुन र चाँदीले बनेको गहना देवीलाई अर्पित गरिएको हो।

गहना नारायणगढ निवासी ध्रुबकुमार प्रधान र श्रीमती रामप्यारी प्रधानले आफ्ना दिवंगत आमा स्व. ऋद्धीकुमारी प्रधान र बुबा स्व. सूर्यकुमार प्रधानको स्मृतिमा अर्पण गरेका हुन् । मूलत: बन्दीपुर–२, चण्डेनी घर बसोबास गर्ने प्रधान दम्पतीले सम्पूर्ण परिवारसहित खड्गदेवीलाई गहना अर्पण गरेका हुन्।

सो अवसरमा चण्डीपाठ, रूद्री होम, प्राण प्रतिस्थापन लगायत सम्पूर्ण पूजाविधि सम्पन्न गरिएको थियो। पूजापश्चात देवीको टिका र प्रसाद ग्रहण गर्न भक्तजनहरूको बाक्लो उपस्थिति देखिएको थियो।

गहना औपचारिक रूपमा खड्गदेवी माई पूजा सञ्चालक समितिलाई हस्तान्तरण गरिएको हाे । यस गहनालाई प्रत्येक वर्ष दशैंको फुलपातीका दिन देवीको बजार परिक्रमाको क्रममा र विजया दशमीसम्म देवीलाई सजाउने गरिने छ।

कार्यक्रममा प्रधान परिवार, मन्दिरका पुजारी, खाँडे मगर पुजारी, समिति सदस्यहरू तथा ठूलो संख्यामा स्थानीय श्रद्धालुहरू सहभागी भएका थिए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page