भिमाद नगरपालिकामा घर-घरमै पुगेर बाँझोपन निवारण शिविर सम्पन्न
भिमाद नगरपालिका पशु सेवा शाखाद्वारा सञ्चालन गरिएको “घर-घरमै बाँझोपन निवारण शिविर” सम्पन्न भएको छ। पशुपालनमा देखिँदै आएको बाँझोपन सम्बन्धी समस्यालाई समाधान गर्न शिविर सञ्चालन गरिएको हो। शिविरमा राष्ट्रिय पशु प्रजनन् केन्द्र,पोखराबाट आएका विज्ञ पशु चिकित्सक डा. अभिनाष भट्टराई, भिमाद नगरपालिकाका पशु सेवा शाखा प्रमुख डा.रितिकेष झा, शाखाका अन्य कर्मचारी तथा इन्सेमिनेटरहरूको टोलीले सेवा प्रदान गरेका थिए।

कार्यक्रम अन्तर्गत नगर क्षेत्रभित्र रहेका कृषकहरूको घर-घरमै पुगेर पशुको परीक्षण तथा आवश्यक औषधि निःशुल्क वितरण गरिएको थियो। पशुमा गर्भ नरहने, पटक–पटक गर्भ तुहिने, बाली नखोज्ने लगायत समस्याका कारण उत्पादन क्षमता प्रभावित भइरहेको अवस्थामा यस्तो कार्यक्रमले समाधान दिने विश्वास गरिएको छ।

शिविरमा सेवा लिएका किसानहरू अत्यन्तै सन्तुष्ट देखिएको जनाइएको छ। “घरमै आएर सेवा दिँदा हामीलाई धेरै सहज भयो,” एक जना पशुपालक कृषकले प्रतिक्रिया दिए।
नगरपालिकाले आगामी दिनहरूमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने योजना बनाएको छ। पशुपालक कृषकहरूलाई पशुमा देखिएका बाँझोपन सम्बन्धी समस्या भएमा नजिकको वडा कार्यालय वा पशु सेवा शाखामा सम्पर्क गर्न आग्रह गरिएको छ।
























