सोमबारदेखि अनिश्चितकालिन देशव्यापी यातायात बन्दको घोषणा
गण्डकी प्रदेश सरकारले कानून बनाएर राइड शेयरिङलाई मान्यता दिएपछि देशव्यापी आन्दाेलनमा उत्रिएका छन्। सांगठानिक रुपमा एक हुँदै यातायात व्यवसायीहरु त्यसको बिरोधमा उत्रिएका छन् । राइड शेयरिङलाई मान्यता दिने निर्णय खारेजीको माग राख्दै तीनदिनदेखि आन्दोलनरत यातायात ब्यबसायीहरुले सोमबारदेखि अनिश्चितकालिन देशव्यापी यातायात बन्दको घोषणा गरेका छन्। जसका कारण सर्वसाधारण जनताहरू मारमा परेका छन् ।

यातायात ब्यबसायी संगठनहरुले गठन गरेको ‘सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समिति’को आह्वानमा सार्वजनिक यातायातका सवारी साधनहरू ग्यारेजमै थन्क्याएर आन्दोलनमा उत्रने निर्णय भएको यातायात व्यवसायीले बताएका छन् ।

यो आन्दोलन गण्डकी प्रदेश सरकारले ‘राइड सेयरिङ’को नाममा निजी सवारी साधनलाई भाडामा प्रयोग गर्न दिने नियमावली ल्याएको विरोधमा केन्द्रित छ। व्यवसायीहरूका अनुसार यो नियमावलीले सार्वजनिक यातायात व्यवसायीको जीविकोपार्जनमा गम्भीर असर पार्ने भएकाले तत्काल खारेज गर्न माग गरिएको छ। सम्बन्धित निकायलाई ध्यानाकर्षण पत्र बुझाउँदा पनि सुनुवाइ नभएपछि बाध्य भएर सवारी साधन थन्क्याएर आन्दोलनमा उत्रनुपरेको यातायात व्यवसायी कृष्ण केसीले बताए ।
यता ‘सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समिति’ले आइतबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, “यो बन्दबाट पर्ने असरको सम्पूर्ण जिम्मेवारी नेपाल सरकारले लिनुपर्नेछ। हामी आम उपभोक्ता, यात्रु, मजदुर, कर्मचारी र सरोकारवाला सबैलाई यो आन्दोलनमा सहयोग गर्न अपिल गर्छौँ।” विज्ञप्तिमा जेठ १९ गतेदेखि शुरू हुने बन्दले सार्वजनिक यातायातलाई जोगाउन सबैले सक्दो सहयोग गर्नुपर्ने उल्लेख छ।
एकातिर यातायात व्यवसायीहरु आ – आफ्ना सवारी साधनहरु ग्यारेजमा थन्काएर आन्दोलन गरिरहेका छन् भने गण्डकी प्रदेश सरकारबाट मान्यता पाएका राइड शेयरिङ पक्षधर पठाओ र इनड्राइभले मौकाको फाइदा उठाएर सेवाग्राहीलाई मर्का पर्ने गरी जथाभावी भाडा असुलि गरेका समाचारहरु आएका छन्। पोखरामा सार्वजनिक सवारी साधनहरु नचलेको अवस्थामा राइड शेयरिङ व्यवसायीहरुका लागि भने दशैं आए जस्तो भएको पिडित सेवाग्राहीहरुले गुनासो गरेका छन्। दमाैली र आसपास पनि निजी सवारीसाधनले भित्री गल्लीमा बसेर बार्गेनिङ गर्दै महङ्गोमा यात्रा गर्नुपरेको यात्रुहरूले गुनासो गरेका छन् ।
























