चन्डिदेवी मावि र व्यास दिव्य ज्योती बोर्डिङमा खाद्य गुणस्तर तथा पोषण सम्बन्धी कार्यक्रम

तनहुँकाे व्यास नगरपालिका स्थित चन्डिदेवी राष्ट्रिय माध्यमिक विद्यालय र व्यास दिव्य ज्योती बोर्डिङमा खाद्य गुणस्तर तथा पोषण सम्बन्धी कार्यक्रम गरिएको छ । मंगलबार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय दमौली तनहुँले खाद्य स्वच्छता दिवसको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत व्यास- १० वैरेनी स्थित चण्डीदेवी राष्ट्रिय माध्यमिक विद्यालय र व्यास २ स्थित व्यास दिव्य ज्योति बोडिङ्ग स्कूलका बिद्यार्थीहरुलाई खाद्य गुणस्तर तथा पोषण सम्बन्धी जनचेतनामूलक कार्यक्रम गरिएको हो ।

यसक्रममा माध्यमिक तहका १५० विद्यार्थीलाई खाद्य स्वच्छता, गुणस्तर तथा खाद्य पोषण सम्बन्धी जानकारी र प्याक गरिएका खाद्य पदार्थको लेबल हेर्ने प्रयोगात्मक कक्षा लिइएको थियो । विद्यार्थी घर समाजमा सूचना पुऱ्याउने संभाहक भएकाले आफ्नो स्वास्थ्य सँगसँगै घर परिवारलाई पनि स्वच्छ खानेकुरा तयार गर्न र सेवन गर्न सिकाउने उद्देश्यले यो कार्यकम राखिएको कार्यलय प्रमुख ज्योति आचार्यले जानकारी दिए । कार्यक्रमले विद्यार्थीलाई केही कुरा जान्ने र बुझ्ने अवसर मिलेको प्रमुख आचार्यले बताए । कार्यक्रमको संचालन खाद्य निरीक्षण अधिकारी सन्तोष थापा मगरले गरेका थिए भने पोषण बारेको कक्षा कार्यालयकी प्राविधिक सहायक तथा कार्यक्रम संयोजक अनुषा खरेलले गरेकी थिइन् । सो अवसरमा कार्यालयले जानकारी मूलक पुस्तक तथा असल खानपान बारेको चेतनामूलक फ्लेक्स पनि वितरण गरेको थियो ।

























