भिमादमा बालमैत्री स्थानीय शासन सम्बन्धी अभिमुखिकरण तथा क्षमता अभिवृद्धि कार्यक्रम
तनहुँकाे भिमाद नगरपालिकामा बालमैत्री स्थानीय शासन सम्बन्धी अभिमुखिकरण तथा क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ। सामाजिक विकास कार्यालय तनहुँको आयोजनामा भएको कार्यक्रममा नगरका जनप्रतिनिधिहरू, विषयगत शाखाका कर्मचारीहरू, सामाजिक संघसंस्थाका प्रतिनिधिहरू, विद्यालयका प्रधानाध्यापकहरू, स्वास्थ्य संस्थाका प्रतिनिधि तथा बाल क्लबका सदस्यहरू लगायत सरोकारवालाहरूको सहभागिता रहेको थियो।

बालमैत्री स्थानीय शासन अवलम्बन तथा घोषणासम्बन्धी जानकारी प्रदान गर्दै सहभागीहरूको क्षमता विकास गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको थियो। कार्यक्रमको अध्यक्षता जिल्ला बाल अधिकार समिति तनहुँका अध्यक्ष तथा निवर्तमान म्याग्दे गाउँपालिकाका अध्यक्ष मायादेवी रानाले गरेकी थिइन् । कार्यक्रममा प्रमुख अतिथि भिमाद नगर प्रमुख दधिराज सुवेदी रहेका थिए भने विशेष अतिथि उपप्रमुख शारदा खनाल रहेकी थिइन् ।

बालमैत्री स्थानीय शासनको अवधारणा, बालमैत्री योजनामा लगानी, पालिका स्तरीय संरचना, ५१ वटा सूचकहरू, कार्यान्वयनका चरणहरू लगायतका विषयमा सफल बरालले सहजीकरण गरेका थिए ।
कार्यक्रमको अन्त्यमा सहभागीहरूले भिमाद नगरपालिकालाई २०८३ मङ्सिर ४ गतेभित्र बालमैत्री नगरपालिका घोषणा गर्न आवश्यक सम्पूर्ण प्रक्रिया तथा तयारीमा आ–आफ्नो क्षेत्रबाट पूर्ण रूपमा सहयोग गर्ने सामूहिक प्रतिबद्धता जनाउँदै कार्यक्रम समापन गरिएको थियो।
























