भानुकाे पोखरीछापमा हरपिक, सर्फ र फिनेल बनाउने तीन दिने तालिम सम्पन्न


तनहुँकाे भानु नगरपालिका वडा न १३को आयोजना एवं भानु नगरपालिका सामाजिक विकाश शाखाको स्वीकृत दलित महिला लक्षित कार्यक्रम अन्तर्गत भानु १३, पोखरीछापमा आयोजित “हरपिक, सर्फ र फिनेल बनाउने तीन दिने तालिम” सम्पन्न भएको छ। जेठ २५ गतेदेखि २७ गतेसम्म सञ्चालन भएकाे उक्त तालिमको समापनमा सहभागीहरूलाइ प्रमुख अतिथि भानु नगरपालिकाकी उपमेयर उमा गोतामेले प्रमाणपत्र वितरण गरेकी थिइन् ।
वडा नं. १३ का अध्यक्ष कृष्ण बहादुर अधिकारीकाे अध्यक्षतामा भएको कार्यक्रममा भानु नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख कृपाहरी लौडारी, सूचना प्रविधि अधिकृत राजिव घिमिरे, नगर कार्यपालिका सदस्य, वडा सदस्यहरू,सहभागी महिला तथा स्थानीय सरोकारवालाहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्नु हुँदै प्रमुख अतिथी उमा गोतामेले महिलाहरूले घरेलु उत्पादनका सीप सिकेर आत्मनिर्भर बन्ने यस्ता तालिमहरू स्थानीय तहका लागि अत्यन्त महत्वपूर्ण रहेको र नगरपालिकाले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताइन् ।
कार्यक्रमका अध्यक्ष तथा भानु १३ का वडा अध्यक्ष कृष्ण बहादुर अधिकारीले महिलाहरूलाई सीपमूलक तालिममार्फत आत्मनिर्भर बनाउने यस्तो अभियान प्रशंसनीय भएको बताउँदै, आगामी दिनमा यस्ता कार्यक्रमलाई अझै सशक्त रूपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे ।

तालिममा प्रशिक्षक कमला अधिकारी र ईश्वरी अधिकारीले घरेलु सरसफाइ सामग्री (हरपिक, सर्फ, फिनेल) घरमै बनाउने विधि व्यावहारिक रूपमा सिकाएका थिए ।
कार्यक्रममा ५२ जना महिलाको सक्रिय सहभागिता रहेको थियो। सहभागीहरूले तालिम उपयोगी र व्यवहारिक भएको प्रतिक्रिया दिएका थिए।
























