आँबुखैरेनिमा अपाङ्गता भएका बालवालिकाको अध्ययनको लागि अपांगता विद्यालय संचालनमा

आँबुखैरेनिमा अपाङ्गता भएका बालवालिकाको अध्ययनको लागि अपांगता विद्यालय संचालनमा

आँबुखैरेनिमा गाउँपालिकाको कार्यालयले अपाङ्गता भएका बालवालिकाको अध्ययनको लागि अपांगता विद्यालय संचालनमा ल्याएको छ । आँबुखैरेनी गाउँपालिकाले यसै शैक्षिक सत्र २०८२ देखि आँबुखैरेनी २ बरादीमा उक्त विद्यालय संचालनमा ल्याएको हो । हाल यस विद्यालयमा अभिभावक विहिन अपांगता भएका ३ जना सहित ८ जना अपांगता भएका बालबालिका अध्ययन गर्दै आएका छन् । अपांगता भएका बालबालिकामा शारीरिक, वौद्धिक र बहिरा प्रकृतिका हुन् ।
नेपाल सरकार शिक्षा तथा मानव स्रोत बिकास केन्द्र समावेशी शिक्षा शाखाका शाखा अधिकृत दिपक माझीले यसै शैक्षिक शत्रदेखि आँबुखैरेनी गाउँपालिकाले अति अशक्त, पूर्ण अशक्त र अपांगता भएका भएका बालवालिकालाई शिक्षा प्रदान गर्न विद्यालय संचालन ल्याउनु सकारात्मक कार्य भएको बताए । अपांगता भएका बालबालिकाको शिक्षामा पहुँच वृद्धि गर्न यस्तो विद्यालयको योगदान महत्वपूर्ण हुने शाखा प्रमुख माझीले बताए । अपांगता भएका बालवालिकालाई र निश्चित समयको लागि अभिभावकलाई समेत विद्यालयमा नै राखी अपाङ्गतामा आधारित सामुदायिक पुनःस्थापनामा जोड दिन उक्त विद्यालय स्थापना गरिएको समेत उनले जानकारी दिए ।
आँबुखैरेनी गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखा अधिकृत निर्मला कुँवरले मित्रता समावेशी बिद्यालय नाम दिएर संचालनमा ल्याईएको उक्त विद्यालय जिल्ला, प्रदेश, नेपाल भरिकै बहुअपाङ्गता भएका बालवालिकाका लागि उपयोगी हुने बताइन् ।
मित्रता समावेशी बिद्यालयका स्वयंसेवक शिक्षक सन्तोष पौडेलले अपाङ्गता भएका बालबालिकालाई उनीहरुको मनोविज्ञान र अवस्था बुझेर शिक्षा दिईएको बताए । उक्त विद्यालयमा हाल ३ जना शिक्षक र एक जना भान्छे र शुसारे खटिएका छन् । उनका अनुसार बिद्यालयमा भर्ना भएका बालवालिकालाई शैक्षिक ज्ञानको अलावा व्यवहारिक शिक्षामा समेत जोड दिने गरी अध्यापन गरिने बताए ।
अपांगता भएकाहरुको हितमा आँबुखैरेनी गाउँपाकिाको कार्यालयको अगुवाईमा विद्यालय स्थापना गरिनु रचनात्मक कार्य भएको अपांगता अधिकारको क्षेत्रमा कृयाशिल ईश्वर वास्तोलाले बताए । अपांगता भएकाहरुको हक र अधिकारको लागि राज्यका सबै तहको सरकारको ध्यान पुग्न आवश्यक रहेको समेत उनले बताए ।

गाउँपालिकाको कार्यालयबाट प्रदान गरिने हरेक खालको सेवालाई प्रभावकारी बनाउन आफूहरु जुटी रहेको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताए । विद्यालय स्थापनापछि बहु अपांगता भएका बालबालिकालाई अध्ययन गर्न अन्यत्र जान नपर्ने अध्यक्ष चुमानको भनाई छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page