प्रअ पाेख्रेलकाे बिदाइमा वियोगका आँसु
एकाएक विद्यालयमा सन्नाटा छायो। ३७ वर्षदेखि अध्यापन गराउँदै आउनुभएकी मेडमकाे बिदाइ हुने सुन्दा विद्यार्थी र सहकर्मी शिक्षक भावविह्वल बने। विद्यार्थीले हतारहतार फूलमाला ल्याए। अविर किने र रंगाउन थाले आफ्ना मेडमलाइ । कसैले मेडमका गलामा फूलका माला लगाइदिए त कसैले हातमा फूल थमाइदिए। अनि रंगाई दिए आफ्ना मेडमलाई अविरले। फूलमाला पहिर्याउँदै गर्दा विद्यार्थी घुँक्कघुँक्क आवाज निकाल्दै आँसु पुछ्दै बाहिरिए बाक्लो भिडबाट अनि कक्षा कोठामा पुगेर धित मरुन्जेल रोए। याे दृश्य लक्ष्मी आधारभूत विद्यालय लमजुङको हाे ।

३७ वर्षदेखि लगातार अध्यापन गराउँदै आएका विद्यालयका प्रधानाध्यापक सरिता पाेख्रेलकाे अवकाश भएपछि शिक्षक तथा अभिभावक अनि विद्यार्थीले आफ्नै तरिकाले बिदाइ गरे। सहकर्मी शिक्षकले पनि फूल तथा खादाले बिदाइ गरे। हरेक दिन पढाउँदै आएका शिक्षकलाई सेवानिवृत्तपश्चात् बिदाइ गर्दा विद्यार्थी भावविह्वल भएका थिए। बिदाइ गर्दैगर्दा कोही विद्यार्थी तथा शिक्षक बोल्न सकेनन्। मात्र टीका अविर र फूलमालाले शिक्षकका गला भरिदिए।

पाेख्रेल एक शिक्षक मात्रै नभई विद्यार्थीका लागि असल अभिभावक पनि हुनुहुन्थ्यो,’ सहकर्मी शिक्षकका नजरमा पनि उहाँको मिजासिलो बानी व्यहोरा र सबैलाई सम्मान गर्ने एक उच्च अभिभावकको भूमिका थियो , अन्य सहभागी सहपाठी शिक्षकहरूकाे प्रतिक्रिया थियो ।
विद्यालयप्रतिको उहाँको लगानी बिर्सन नसकिने खालको रहेको र ‘उहाँ बाट विद्यालयले मात्रै नभई समाजले पनि धेरै कुरा सिक्न सक्नुपर्ने सहभागीहरूले बताएका थिए ।’ बिदाइ कार्यक्रममा भावविह्वल हुँदै सहपाठीहरूले सेवा निवृत्त भई जाँदै गरेकाे मेडमकाे बाँकी जीवन सुखमय रहोस् भन्दै शुभकामना दिएका थिए ।
आफूलाई एकाएक विद्यार्थीले फूलमाला र अविर लगाउँदा भावविह्वल भएको बताउँदै पाेख्रेलले भनिन् ‘त्यो क्षण मेरा लागि सपना जस्तै थियो।’ आफूले खेलाउँदै पढाएका विद्यार्थी नै आफ्नो लागि माला र अविर ल्याएर आउँदा बोल्नै नसकेको उनले बताइन्। विद्यार्थीहरूले बिदाइ गर्दैगर्दा रोएको दृश्यले आफू पनि भावविह्वल भएको बताउँदै उनले भनिन्, ‘आँखामा टलपलाएका आँसु सकिनसकी रोकेँ।’
शिक्षा एक पेशा मात्र होइन, यो जीवनको सेवाको मार्ग हो र यही सेवाको मार्गमा आफूलाई समर्पित गर्नु भएको श्री लक्ष्मी आधारभूत विद्यालयको प्रधानाध्यापक पोख्रेल म्याडम अब विद्यालय जीवनबाट स्वेच्छिक अवकाश लिनु भएको छ। एक शिक्षकले भने । उहाँले विद्यालय स्थापनाको समयदेखि नै(२०४५) अध्यापन कार्यमा सक्रिय सहभागिता जनाउनुभएको थियो। ती सुरुवाती दिनहरू, जब विद्यालयसँग खासै स्रोतसाधन थिएनन्, ती दिनहरूमा पनि उहाँको अटुट मेहनत, दृढ निष्ठा र अभिभावकत्वले विद्यालयलाई आजको सफल यात्रासम्म पुर्याएको छ।३७ वर्षको लामो सेवाको यो पवित्र यात्रामा, उहाँ २०६७ सालमा राष्ट्रिय पुरस्कार बाट सम्मानित, २०७३ सालमा जिल्ला पुरस्कार बाट सम्मानित साथै उहाँले थुप्रै पुस्ताहरूलाई शिक्षा दिई ज्ञानको उज्यालोमा अग्रसर गराउनुभयो सहभागी शिक्षक तथा अभिभावकहरूकाे भनाइ थियो । उहाँको बोली, ब्यवहार, अनुशासन, शिक्षाप्रतिको समर्पण र विद्यार्थीहरूप्रतिको मायाले हामी सबैलाई सदैव प्रेरित बनाउनेछ। आजको बिदाई समारोह भावुक र स्मरणीय बन्यो। आँखामा आँसुका थोपा थिए, तर हृदयमा गर्वको अनुभूति पनि। तपाईंको योगदानलाई शब्दमा समेट्न सकिँदैन। तपाईंले देखाएको मार्गमा हामी हिँड्ने प्रयास गर्नेछौं। तपाईंको आगामी जीवन सुख, स्वास्थ्य र सन्तोषले भरिपूर्ण रहोस् भन्ने हामी यस श्री लक्ष्मी आधारभूत विद्यालय तर्फ बाट शुभकामना छ , पाेख्रेललाइ दिइएको सम्मानपत्रमा उल्लेख छ ।
























