सामान्य प्रशासन मन्त्री बन्न सफल भएको भन्दै मन्त्री न्याैपानेकाे जिल्ला तनहुँमा खुसियाली
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय सभाकी सांसद भगवती न्यौपानेलाई संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री नियुक्त गरेका छन् । तनहुँकाे भानु घर भएकी न्याैपाने प्रभावशाली मन्त्री बन्न सफल भएको भन्दै उनको जिल्ला तनहुँका राजनीतिक दलका नेताहरूले खुसि व्यक्त गरेका छन् । नेकपा एमालेका जिल्ला अध्यक्ष हरिराज कंडेलले पार्टीको युवा नेता मन्त्री बनेकामा खुसी व्यक्त गरे । जिल्लामा एमालेबाट लामो समयदेखि मन्त्री बन्ने अवसर नपाइरहेकाे अवस्थामा उहाँ मन्त्री हुनुभएको भन्दै कंडेलले यसले सरकार र पार्टी दुबैलाई माथि उकास्ने विस्वास व्यक्त गरे । बिद्यार्थीकाल देखि अनवरत पार्टी र जनताका लागि हिँड्नुभएकाे न्याैपाने मन्त्री हुनु भनेको युवा देखि महिला सम्मका सबै क्षेत्रलाई न्याय मिल्नु हाे कंडेलकाे प्रतिक्रिया छ ।

न्याैपाने मन्त्री भएपछि नेपाली काङ्ग्रेसका जिल्ला सचिव एवम् युवा नेता लक्ष्मीभक्त खनालले
एक ठाउँमा जित्न नसक्दैमा योग्यताको सबै मापन हुने हो र? भन्दै राजनीति मै जीवन सकिन लागेको कस्ले देख्ने ? भन्ने प्रश्न गरे । सचिव खनालले भानु नगरपालिकामा मेयरमा हारेको मान्छेलाई मन्त्री बनाएको भन्ने सामाजिक सञ्जालकाे नकारात्मक प्रतिक्रियामा असन्तुष्टि जनाउँदै उक्त प्रतिक्रिया जनाएका थिए । खनालले मन्त्री न्याैपानेलाइ बधाई तथा शुभकामना दिँदै अनुभव , अध्ययन र योगदानकाे कदर भएको बताए । नेकपा माओवादी केन्द्र व्यास नगर सभापति गाेपाल सुर्खालिले मन्त्री न्याैपानेलाइ सफल कार्यकालको शुभकामना व्यक्त गर्दै राम्रो काममा साथ , समर्थन रहने भन्दै कामको आधारमा थप प्रतिक्रिया दिने बताए । राष्ट्रिय स्वतन्त्र पार्टी तनहुँका सभापति विश्व वास्ताेलाले जिल्लाकाे नेता मन्त्री हुँदा बेखुसी मान्नुपर्ने कुनै कारण नभएको भन्दै सफलताको शुभकामना व्यक्त गरे ।

यसअघिका सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले मंगलबार बिहान राजीनामा दिएका थिए । घूस संवाद गरेको अडियो सार्वजनिक भएपछि उनले राजीनामा दिएका थिए । उनको राजिनामा पछि तनहुँकि युवा नेतृ न्याैपानेकाे भाग्य चम्किएकाे हाे ।
























