विपिकाे स्याहारसुसार गर्ने दमाैलीका गम्भिरदास !

तनहुँकाे व्यास नगरपालिका वडा नं ३ पुरानो प्रशासन कार्यालय अगाडि रहेको श्रीकृष्ण नर्सरीका सञ्चालक गम्भीरदास नेपालले विपि पार्कमा हरेक दिन सरसफाइ गर्दै विपि सालिककाे स्याहारसुसार गर्ने गर्दछन् । नर्सरीबाट नजिकै रहेको उक्त पार्कमा फुल सार्ने , गाेडमेल गर्ने , पानी हाल्ने र बढार्ने तथा शालिकलाई नुहाएर टिलिक्क पार्ने उनको दैनिकी नै बनेको छ ।

बिहान आउने बित्तिकै सबैभन्दा पहिला पार्क खाेलेर त्यहाँको रेखदेख तथा सरसफाइ गर्ने गरेको नेपालले बताए । उनको दैनिक मेहेनत र परिश्रमले उक्त पार्कमा ढकमक्क फुलहरू फुलेका छन् र आकर्षक देखिएको छ । यस्तै उनले हरेक दिन पानी हाल्ने पखाल्ने गर्दा सालिक पनि सफा र चिटिक्क देखिएको छ । यी सबै काम उनलेे निशुल्क गर्दै आएका छन् । त्यसाेत नेपालले अन्य ठुला र औपचारिक कार्यक्रममा आफ्नाे नर्सरीबाट निशुल्क रूपमा फुलका गुच्छा , गमला समेत सहयोग गर्ने र आवस्यक परेका बेलामा बिरुवा काटछाँट तथा गाेडमेल समेत गर्ने गरेका छन् ।

सञ्चालक नेपालले दमाैलीमै नर्सरी नभएको अवस्थामा फाेहाेरमैलाले भरिएको , लागुऔषधकाे अखडा बनेको ठाउँलाई सरसफाइ गरेर आकर्षक बनाइ नर्सरी स्थापना गरेका हुन् । पहिला फाेहाेरले जान नसकिने उक्त ठाउँमा उक्त नर्सरी बसेपछि अहिले हरियाली र हराभरा भएको छ । २०६८ सालबाट सुरु भएको उक्त नर्सरीमा हाल सिजनेवल फुल देखि महंगो फलफूलहरू स्याउ , नास्पती , आरू , आरूवखडा , अम्बा , कागती , कटहर जस्ता फलफूलका विरूवाहरू पाइन्छन् । नर्सरीबाट तनहुँ सँगै लमजुङ , गाेरखा बाट समेत बिरुवा लिन आउने नेपालले बताए । बिरुवा लिन आउने जाेसुकैलाइ पनि राेपण गर्ने तरिका सिकाउने गरिएको छ । धेरै प्रकारका बिरूवाहरू दमाैलीमै पाइने भए पछि अन्यत्र बिरुवा लिन जाने झन्झट हटेको स्थानीय बताउँछन् । एकातिर राम्रो , सुन्दर र आकर्षक भएको छ , अर्कोतर्फ बिरूवा आवस्यक पर्नेलाइ लान सजिलो भएको छ , साथै दमाैलीकै सुन्दरता जाेगाउने काम समेत नर्सरीले गरेको छ ।

























