लागुऔषधसहित आँबुखैरेनीबाट पोखराका तामाङ पक्राउ
आँबुखैरेनी, साउन १३ – तनहुँको आँबुखैरेनी गाउँपालिका–४ स्थित पृथ्वी राजमार्ग सडकखण्डबाट प्रहरीले एक युवकलाई ठूलो परिमाणको लागुऔषधसहित पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय आँबुखैरेनीबाट खटिएको प्रहरी टोलीले सवारीसाधन तथा शंकास्पद व्यक्तिहरूमाथि चेकजाँच गर्ने क्रममा लागुऔषधसहित ती युवकलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा कास्की जिल्ला, पोखरा महानगरपालिका–१६ निवासी २४ वर्षीय सन्तोष तामाङ रहेका छन्।

तामाङले साथमा बोकेको कालो रंगको झोलाभित्र लुकाईछिपाई ल्याएको अवस्थामा Tramadol Hydrochloride Capsules लेखिएको जम्मा ८४ पत्ता (८४० क्याप्सुल) फेला परेको प्रहरी निरीक्षक टेक प्रसाद सुबेदीले जानकारी दिए।
पक्राउ परेका तामाङको साथबाट एक थान मोबाइल फोन समेत बरामद गरिएको छ। हाल उनलाई लागुऔषध सम्बन्धी कसूरमा थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय आँबुखैरेनीमा राखिएको छ।

























