घिरिङको गाउँमै भिडियो एक्सरे सेवा सुरु
साउन १५
तनहुँकाे घिरिङ गाउँपालिकाले ग्रामीण क्षेत्रमा अल्ट्रासाउण्ड सेवा शुभारम्भ गरेको छ। बुधबार एक कार्यक्रम आयोजना गरी गाउँपालिकाको समन्वयमा स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेश अन्तर्गत प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रबाट प्राप्त करिब १७ लाख बराबरको भिडियो एक्सरे (अल्ट्रासाउण्ड) मेसिन सुन्धारा स्वास्थ्य चौकीमा हस्तान्तरण गरिएको हो।

कार्यक्रमका प्रमुख अतिथि तथा गाउँपालिका अध्यक्ष होम बहादुर थापाले स्वास्थ्य चौकीका अध्यक्ष एबम् वडा नं. ३ का अध्यक्ष तहल सिं थापालाई मेसिन हस्तान्तरण गरेका थिए। सो अवसरमा स्वास्थ्य चौकीमा उपस्थित केही गर्भवती महिलाहरूको परीक्षण गरी सेवा औपचारिक रूपमा सुरु गरिएको थियो।

अध्यक्ष थापाले गाउँपालिकाले टाढा अस्पताल जानुपर्ने बाध्यता हटाउने उद्देश्यले सेवा सुरु गरेको उल्लेख गर्दै, गर्भवती महिलाहरूले कम्तीमा आठपटक नियमित परीक्षण गरेमा सरकारले उपलब्ध गराउने सबै सुविधा पाउने स्पष्ट पारे। उनले भिडियो एक्सरे सेवाको सदुपयोग गर्न सबैलाई आग्रह गर्दै सुत्केरी हुने बेलामा अनिवार्य रूपमा स्वास्थ्य संस्थामा जानु पर्नेमा पनि जोड दिए।
प्रत्येक हप्ताको बुधबार नियमित रूपमा सेवा प्रदान गरिने साथै आवश्यकताको आधारमा पालिकाका अन्य स्वास्थ्य चौकीहरुमा पनि विस्तार गर्ने गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख कृष्ण प्रसाद रिमालले जानकारी दिए।
कार्यक्रममा गाउँपालिकाका कार्यपालिका सदस्य पार्वती बिक, ईश्वरी श्रेष्ठ, वडा सदस्य लोकबहादुर गुरुङ्ग, महिला स्वयंसेविका लगायतको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन स्वास्थ्य शाखा प्रमुख रिमालले गरेका थिए भने स्वागत मन्तव्य सुन्धारा स्वास्थ्य चौकीका प्रमुख प्रितम थापाले राखेका थिए।
























