पब्लिक क्याम्पस प्राध्यापक सङ्घ नेपाल, आदिकवि भानुभक्त क्याम्पसकाे अध्यक्षमा राजन घिमिरे
पब्लिक क्याम्पस प्राध्यापक सङ्घ नेपाल, आदिकवि भानुभक्त क्याम्पस इकाइको १४औं अधिवेशन शनिवार क्याम्पस सेमिनार हलमा सम्पन्न भएको छ ।अधिवेशनवाट उप-प्राध्यायक राजन घिमिरेको नेतृत्वमा सर्वसम्मत रुपमा ईकाई कार्यसमिति गठन भएको छ। कार्यसमितिको उपाध्यक्षमा उप. प्रा. सागर न्यौपाने, सचिवमा सहायक प्रा. विष्णु हडखले, कोषाध्यक्षमा सहायक प्रा. मिना श्रेष्ठ र सहसचिवमा सहायक प्रा. कन्चना काफ्ले र सदस्यहरूमा – उप प्रा. दीपा थापा, उप प्रा. गजेन्द्र पौडेल, उप प्रा चिजकुमार श्रेष्ठ, उप प्रा बिमल खत्री, सहायक प्रा बुद्धकुमार श्रेष्ठ, र सहायक प्रा. धनबहादुर थापा अनुराग निर्वाचित भएका छन्। अधिवेशनको अन्त्यमा निर्वाचन समितिका संयोजक उप प्रा बिमल गिरीको अध्यक्षतामा प्रमाणपत्र वितरण कार्यक्रमको आयोजना गरिएको थियो।

उक्त अवसरमा निर्वाचित पदाधिकारी एवं सदस्यहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो । प्रमाणपत्र वितरण कार्यक्रमको सञ्चालन निर्वाचन समितिका सदस्य नारायणी अधिकारीले गर्नुभएको थियो। ३ सदस्यीय ईश्वर निर्वाचन समितिमा क्याम्पसको प्रशासकीय अधिकृत बसन्ती थापा समेत रहनुभएको थियो। अधिवेशनमा क्याम्पसका प्राध्यापक र कर्मचारीहरूको उपस्थिति रहेको थियो।

त्यसअघि उक्त अधिवेशनको व्यास नगरपालिकाका प्रमुख एवं नेपाल पब्लिक क्याम्पस सङ्घका पूर्व केन्द्रीय अध्यक्ष वैकुण्ठ न्यौपानेले उद्घाटन गर्दै आदिकवि भानुभक्त क्याम्पस जस्तो सामुदायिक उच्च शैक्षिक संस्थाको भविष्य सबल र सक्षम प्राध्यापकमा निर्भर रहेको बताउनुभएको थियो। न्यौपानेले प्राध्यापकहरूले युग सुहाउँदो शिक्षण सीपको विकास र उपल्लो स्तरको योग्यता वृद्धिमा जोड दिनुपर्ने बताउनुभएको थियो।
कार्यक्रममा बोल्दै क्याम्पस प्रमुख सह-प्राध्यापक महाप्रसाद हडखलेले आदिकवि भानुभक्त क्याम्पसको प्राध्यापक हुन पाउनु प्रतिष्ठा र गौरवको विषय भएको र प्राध्यापकहरूलाई क्याम्पसले पेशागत हक हित र सुरक्षा प्रदान गर्दै आएको बताउनु भएको थियो । क्याम्पसले सञ्चयकोष, उपदान कोष, नागरिक लगानी कोष, अध्ययन बिदा, स्वदेश तथा विदेशका उच्च शैक्षिक सम्मेलनमा सहभागिता, शोध तथा अनुसन्धान अनुदान, बिरामी बिदा लगायतका सुविधाहरू उपलब्ध गराउँदै आएको र क्याम्पस सञ्चालक समिति र प्रशासन प्राध्यापक कर्मचारीको हक हितका लागि सधैं सकारात्मक रहने प्रतिबद्धता जनाउनुभएको थियो।
कार्यक्रममा विगतमा प्राध्यापक सङ्घको अध्यक्ष पदमा रही क्याम्पस र प्राध्यापकहरुको हितमा महत्वपूर्ण योगदान गर्नुभएका इकाइका पूर्व अध्यक्ष कमला मोहन वाग्लेलाई दोसल्ला तथा सम्मान पत्रद्वारा सम्मान गरिएको थियो।
अधिवेशनको उद्घाटन सत्रको अध्यक्षता ईकाईका जेष्ठ सदस्य उप-प्रा.विश्वेश्वर तिमल्सेनाले गर्नुभएको थियो।
अधिवेशनको बन्द सत्रमा इकाई सचिव उप-प्रा. सागर न्यौपाने र कोषाध्यक्ष सहायक प्रा. मिना श्रेष्ठले सभाका सदस्यहरूमाझ प्रस्तुत गरेको सङ्घको प्रगति प्रतिवेदन तथा आर्थिक प्रतिवेदन संशोधन सहित पारित गरिएको थियो।
उक्त कार्यक्रममा नेपाल पब्लिक क्याम्पस सङ्घका केन्द्रीय सदस्य केशवराज काफ्ले, पब्लिक क्याम्पस प्राध्यापक सङ्घका केन्द्रीय सदस्य उप प्रा बिमल गिरी, क्याम्पस ईकाईका पूर्व अध्यक्षहरू कमला मनमोहन वाग्ले र सन्त तामाङ, स्ववियू अध्यक्ष अनुप आले लगायतले शुभकामना मन्तव्य ब्याक्त गर्नुभएको थियो ।
उद्घाटन सत्रको सञ्चालन ईकाई सचिव उप प्रा सागर न्यौपानेले गर्नुभएको थियो।
























