गाछेपानीकाे च्यवनधाममा आजबाट श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ हुने

गाछेपानीकाे च्यवनधाममा आजबाट श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ हुने

दुलेगौंडा, १९ साउन
तनहुँको शुक्लागण्डकी नगरपालिका–२ गाछेपानीमा सोमवार आजबाट श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ तथा बोलबम धार्मिक महोत्सव हुँदैछ । महायज्ञको शुक्लागण्डकी नगरपालिकाका नगर प्रमुख कृष्णराज पण्डितले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । उद्घाटन अघि कलशयात्रा निकालिने छ ।  हरेक वर्ष श्रावण महिनामा हुने धार्मिक महोत्सव यसपटक साउनको १९ गतेदेखि २६ गतेसम्म हुन लागेको हाे । महायज्ञमा मुल संयोजक ठाकुर प्रसाद शास्त्रीले नियमित  रुपमा कथा श्रवण गरि लाभ लिन आग्रह गरे । निवर्तमान मुल संयोजक नारायण कुमार श्रेष्ठले धर्म संरक्षण र च्यवनधामको प्रचार प्रसारका साथै विकासको लागि नियमित रुपमा महोत्सव हुदै आएको उल्लेख गरे । च्यवनधामका अध्यक्ष होमनाथ लम्साल अर्जुनको अध्यक्षतामा हुने महायज्ञ सम्पन्न गर्न विभिन्न ४७ उपसमिति गठन गरिएको छ । धार्मिक महोत्सवमा मुख्य कथा वाचकको रुपमा चर्चित कथा वाचक पण्डित इश्वर रेग्मी रहने छन् । च्यवन धाममा शुक्लेश्वर महादेवको मन्दिर साथै १०८ धारा, १०८ शिवलिङ्ग, १०८ पिपल, बौद्ध गुम्बा लगायतका संरचना रहेको छ । धार्मिक महोत्सवमा श्रीमद्भागवत र शिव महिमा पाठ पारायण, सांगितिक कथा र झाँकी सहितको श्रीमद्भागवत कथा प्रवचन, दैनिक हवन, लघु  रुद्री, गौमाताको दर्शन, मावि स्तरीय वक्तृत्वकला प्रतियोगिता, वृहत योग विज्ञान शिविर लगायतका कार्यक्रम समावेश गरिएको बताइएको छ । यस्तै उक्त अवसरमा साँस्कृतिक सहिष्णुतामा च्यवनधामको भूमिका विषयक वक्तृत्वकला प्रतियोगिता हुने र प्रथम हुनेले १० हजार, द्धितीयले ७ हजार र तृतीयले ५ हजार रुपैया र प्रमाणपत्र पाउने छन । योग शिविर पतञ्जली नगर योग समिति शुक्लागण्डकीसँगको सहकार्यमा साउन २२ देखि २६  गतेसम्म सञ्चालन हुने छ । 


च्यवनधामले २०७२ सालदेखि साउन महिनामा धार्मिक महोत्सव गर्दै आएको छ । महोत्सवबाट बचेको रकमले च्यवनधामसँगै वडा नं ९ स्थित गौं संरक्षण केन्द्रको विकासकोलागि समेत खर्चिदै आएकाे छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page