गाेरखकालीका शिक्षक माथि भएको आक्रमणप्रति खेद व्यक्त !
व्यास ३ शान्तिनगरमा रहेको गाेरखकाली आवासीय मावि का बिज्ञान शिक्षक अर्विन नेपालीले बिद्यार्थीलाइ पाइप तथा हातले कुटेपछि उत्पन्न परिस्थिति र केही अभिभावकले शिक्षकमाथि गरेको हातपात सम्बन्धमा प्याव्सन र एनप्याब्सनले गम्भीरध्यानाकर्षण भएको भन्दै विज्ञप्ति निकालेका छन् ।

कक्षा काेठामा बिद्यार्थीले मकै खाएकाे र साेधेकाे प्रश्नको उत्तर दिन नसकेको भन्दै
शिक्षक नेपालीकाे कुटाइबाट ३ जना बिद्यार्थीकाे शरीरका विभिन्न भागमा राताे डाम बन्नुको साथै सुनिएको थियो भने केहीलाई हातले चड्काए पछि आक्राेसित बनेका अभिभावकले शिक्षक माथि हातपात गरेका थिए । संकल्प कंडेल , रिदम खड्का , जुन गुरूङ लगायतका कुटाइ खाएका बिद्यार्थीहरूले आफुहरूलाइ सरले पाइपले कुटेको बताएका थिए । बिद्यार्थीहरूले रूँदै हामी लगायत अन्य धेरै साथीहरूलाई पनि सरले कुटेको बताएका थिए ।
यसै सम्बन्धमा आइतबार प्याव्सन र ऐनप्याव्सनले संयुक्त बिज्ञप्ती निकालेका हुन् ।

विज्ञप्तिमा भनिएको छ – व्यास नगरपालिका वडा नं. ३ अवस्थित श्री गोरखकाली आवासिय मा.वि.मा मिति २०८२ साउन २२ गते शिक्षक द्वारा विद्यार्थी कुटिएको घटना र अभिभावकहरू र गैर अभिभावकद्वारा शिक्षकलाई साङघातिक हमला गरिएको घटनाले शिक्षा क्षेत्र र समाज दुवैलाई गम्भीर प्रश्नहरू उठाइदिएको छ । साथसाथै विद्यार्थीलाई शिक्षकले बालमैत्री वातावरणमा शिक्षण गर्नुपर्नेमा शारीरिक दण्ड दिनु बालमैत्री नभएको महसुस गरेका छौं । तर केही अभिभावकद्वारा विद्यालय परिसरमै सो शिक्षकमाथि साङ्घातीक आक्रमण गरिएको घटनाप्रति हामी सम्पूर्ण निजी विद्यालयहरू गहिरो चिन्ता प्रकट गर्दछौं ।
हाम्रो धारणा स्पष्ट छ । शारीरिक यातना कुनै पनि अवस्थामा स्वीकार्य हुँदैन। तर, दण्डको विकल्पमा फेरी दण्ड नभई सिकाइलाई सहज बनाउन आवश्यक शिक्षण सीप, विद्यालय-घर-समुदायबीचको सहकार्य, र बालबालिकाप्रति सकारात्मक व्यवहारका बारेमा पर्याप्त छलफल र तयारी हुनु अनिवार्य छ। बालबालिकाको सिकाइ र अनुशासन अघि बढाउनका लागि विद्यालय एउटा पक्ष हो भने अभिभावक र समूदायको भूमिका अझ व्यापक र निर्णायक हुन्छ । पछिल्ला वर्षहरूमा केही अभिभावकहरूले शुल्क तिरेपछि आफ्नो जिम्मेवारी पन्छाउने र सम्पूर्ण दोष विद्यालय र शिक्षकमाथि थोपर्ने प्रवृत्ति देखापरेको छ । जुन शैक्षिक वातावरणका लागि दीर्घकालीन रूपमा हानिकारक हुन सक्छ ।
शिक्षकहरू प्रशासनको अपेक्षा, अभिभावकको दबाब, फरक पृष्ठभूमिका विद्यार्थीहरूको व्यवस्थापन र परिणाम दिनुपर्ने आवश्यकताबीच निरन्तर दबाबमा काम गरिरहेका हुन्छन् । यस्तो अवस्थालाई सन्तुलित राख्न सजिलो छैन। उचित तरिकाले कुनै पनि यातना विना अनुशासन र जिम्मेवारीबोध जगाउने उपायहरू आवश्यक परिरहेका हुन्छन् ।
शिक्षकमाथि भएको साङ्घातीक आक्रमण अत्यन्तै खेदजनक र अस्वीकार्य कार्य हो। यस किसिमका धम्की र दुव्र्व्यवहारले शिक्षकको पेशागत आत्मसम्मान र प्रेरणा दुवैमा नकारात्मक असर पार्दछ । शिक्षकलाई सम्मान नगरी, विद्यालयलाई सहयोग नगरी, विद्यार्थीहरूमा ज्ञान र अनुशासनको बाटोमा अघि बढाउन कठिन हुन्छ भन्ने कुरा हामी सबैले बुझ्नुपर्दछ ।
अन्त्यमा हामी, राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल, (N-PABSAN) तनहुँ र निजी तथा आवसीय विद्यालय अर्गनाइजेसन् नेपाल (PABSON) तनहुँ सम्पूर्ण अभिभावक, बुद्धिजिवी, समुदाय र सरोकारवालाहरूसँग आह्वान गर्दछौं कि आ-आफ्नो जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गरौं, विद्यार्थी र शिक्षक दुवैको आत्म सम्मान बढाऔं, शिक्षण पेसाको गरिमा जोगाऔं, र विद्यालयलाई शान्ती क्षेत्र, सुरक्षित तथा सम्मानित स्थान बनाऔं
विश्वेश्वर खनाल
अध्यक्ष
राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल, (N-PABSAN) तनहुँ
नारायण बहादुर क्षेत्री
अध्यक्ष
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल, (PABSON) तनहुँ
























