दुम्सीचौरमा निर्माणाधीन नारेश्वर तालको प्रदेश सांसद श्रेष्ठले गरे निरीक्षण

व्यास नगरपालिका वडा नं १० दुम्सीचौर स्थित निर्माणाधीन नारेश्वर तालको गण्डकी प्रदेशका सांसद अशोककुमार श्रेष्ठले निरीक्षण गरेका छन् । निर्माण कार्य अन्तिम चरणमा पुगेको भनिएको तालको हाल सम्मको प्रगति र अब गर्न बाँकी कामहरूकाे बारेमा सांसद श्रेष्ठले स्थलगत भ्रमण गरी जानकारी लिएका हुन् । सिंचाइ डिभिजन कार्यालय तनहुँका प्रमुख इन्जिनियर माेहन आचार्य तथा इन्जिनियर सुरेश अधिकारी सहितकाे प्राविधिक टाेलीलाई सँगै लिएर गएका श्रेष्ठले त्यहाँका स्थानीय सँग भेट गरि अहिलेसम्म भए गरेका कामहरू , स्थानीयकाे समस्या , अब गर्नुपर्ने कामहरू , बजेटको अवस्था लगायतका बिषयमा जानकारी लिने र थप कार्ययोजना हरू दिने काम गरेका थिए । व्यास नगरपालिकाले गौरवको योजनाको रुपमा अगाडि बढाएको ताल २४÷२८ रोपनी क्षेत्रफलमा फैलिने भएको र माटो फाली पानी भर्ने तयारी गरिएको छ ।

ताल निर्माण सँगै जम्मा भएको पानी सिचाईका लागि वितरण गरिने योजना समेत रहेको छ । ताल निर्माणका लागि गण्डकी प्रदेश सरकार र व्यास नगरपालिकाकाे गरी करिब ४ करोड रुपैयाँ खर्च गरी निर्माण भइरहेको छ । जसअनुसार प्रदेश सरकारबाट उपलब्ध भएको पहिलो ६० लाख र अहिले ३० लाख रूपया सांसद श्रेष्ठ मार्फत निकासा भएको हाे ।

दुम्सिचाैरमा नयाँ पर्यटकीय गन्तव्य थपिने उद्धेश्यका साथ अगाडि बढाइएको याेजना अनुसार तालमा डुंगा सयरको मज्जा समेत आन्तरिक पर्यटकहरुले लिन पाइने छ ।
























