अस्थायी कर्मचारी प्रकरण – व्यासमा भुकम्प जाँदा अन्य पालिकामा पराकम्पन
व्यास नगरपालिकामा अस्थायी र करार गरी एक सय १४ जना कर्मचारीकाे जागिर चट् हुने भएपछि पालिका भित्र भुकम्प गएको छ । आर्थिक व्यवस्थापन सुधार, कर्मचारी दरबन्दी पुनरावलोकन तथा नयाँ योजना मापदण्ड निर्माणका विषयमा अध्यन गर्न प्रमुख प्रशासकिय अधिकृत सुकदेव लम्सालकाे संयाेजकत्वमा बनेको सात सदस्यीय समितिले एक सय १४ जना कर्मचारी हटाउन पर्ने देखिएको प्रतिवेदन पेश गरेपछि नगरपालिकामा भुकम्प गएको हाे । व्यास नगरपालिकामा कर्मचारीका विषयमा भुकम्प जाँदा तनहुँका अन्य पालिकामा त्यसको पराकम्पन गएको बुझिएको छ । याे सँगै नेताका आसेपासे , भनसुनका भरमा , मायादया र आशिर्वादका भरमा जागिर खानेहरूकाे बिचल्ली हुने भएको छ । त्यतिमात्रै हाेइन केहीले त गैरकानुनी रूपमा नियुक्ति दिएर राज्यको सम्पत्ति दाेहन गर्दै शक्तिकाे दुरुपयोग गर्नेहरू समेतलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताएका छन् ।

नगरपालिकाको आर्थिक दायित्व घटाउने, प्रशासनिक दक्षता बढाउने र विकास योजनालाई व्यवहारिक बनाउन व्यासमा प्रमुख प्रशासकीय अधिकृत लम्सालको संयोजकत्वमा सात सदस्यीय समिति गठन भएको थियो । प्रमुख लम्साल संयाेजकत्वकाे समितिले एक सय १४ जना कर्मचारी हटाउनपर्ने प्रारम्भिक प्रतिवेदन सुशासन समितिलाई बुझाएपछि अन्य पालिकामा के भइरहेको छ भनेर बुझ्ने प्रयास गरिएको छ ।
यससम्बन्धमा शुक्लागण्डकी नगरपालिकाले उपमेयर खुमबहादुर विकको संयाेजकत्वमा एक समिति गठन गरेको छ । संयाेजक विकले आफ्नाे समितिले काम गरिरहेको बताए । करिब अन्तिममा पुगेका छाैं , दुईवटा शाखाको टुंगो लाग्न बाँकी छ उनलेे भने ।अहिलेसम्म प्रारम्भिक चरणमा हेर्दा २० जना कर्मचारी हटाउनुपर्ने सिफारिस जान सक्छ उनलेे भने ।
यता घिरिङ गाउँपालिकामा कार्यालय सहयोगी , स्वास्थ्य लगायतका गरि ५७ जना अस्थायी कर्मचारी रहेको पालिका स्राेतले बताएको छ । यससम्बन्धी बिषयमा कार्यपालिका बैठकमा आज छलफल हुने भनिएको भए पनि पानी परेका कारण बैठक राेकिएकाे स्राेतले बतायो । यता भानु नगरपालिकामा पहिल्यै ठुलो संख्यामा दरबन्दी सृजना गरि चलाखी गरिएको बुझिएको छ । भानुमा के हुँदैछ भनेर प्रमुख प्रशासकिय अधिकृत सुरज श्रेष्ठ सँग सम्पर्क गर्दा सुशासन समिति काे बैठक बसेर टुङ्गो लगाउने बताए । धेरै भएका कर्मचारी हटाउने बिषयमा मेयर साव पनि सकारात्मक रहेको उनलेे बताए । यस्तै आँबुखैरेनी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत चन्द्रकान्त तिमिल्सिना सँग सम्पर्क गर्दा उनलेे फाेन उठाएनन् । उता देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले आफ्नाे पालिकामा ठुलो समस्या नरहेको प्रतिक्रिया दिए । बन्दिपुर गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत कमल बहादुर केसीले पनि आफ्नाे पालिकामा धेरै त्यस्तो समस्या नरहेको बताए । ऋषिङ र म्याग्दे गाउँपालिकामा पनि ठुलो समस्या नरहेको र छलफलकै क्रममा रहेको स्राेतले बताएको छ । भिमाद नगरपालिकामा पनि अस्थायी र करारका कर्मचारी हटाउने या नहटाउने वा कसरी हटाउने भन्ने बारेमा प्रारम्भिक छलफल भएको बुझिएको छ ।


























